नेपाली हस्पिटालिटी क्षेत्रः परिवर्तन र सम्भावना

साजन शाक्य, महासचिव

नेपाली हस्पिटालिटी तथा होटल क्षेत्रको इतिहासलाई फर्केर हेर्ने हो भने, यो क्षेत्र आजको अवस्थासम्म आइपुग्दा धेरै नै परिवर्तन र विकास भएको छ । विगतका दिनहरूमा सीमित संख्यामा मात्र तारे होटलहरू सञ्चालनमा थिए भने आज देशभर तारे होटलहरूको संख्या निरन्तर बढिरहेको छ । यसले नेपाली होटल व्यवसायको विस्तार मात्र होइन, सेवा गुणस्तर, व्यवस्थापन शैली र अन्तर्राष्ट्रिय मापदण्डमा भएको सुधारलाई पनि संकेत गर्छ ।

हाल होटल व्यवसाय तीव्र गतिमा विकास भइरहेको क्षेत्रमध्ये एक बनेको छ । होटल संघ नेपाल र यससँग आबद्ध व्यवसायीहरूले यस क्षेत्रको समग्र उन्नतिका लागि विभिन्न तहमा निरन्तर काम गरिरहेका छन् । सेवा गुणस्तर सुधार, जनशक्ति विकास, पूर्वाधार सुदृढीकरणका प्रयास भएका छन् । यिनै प्रयासका कारण नेपाली होटल उद्योग आज अन्तर्राष्ट्रिय पर्यटकको अपेक्षाअनुसार सेवा दिन सक्षम बन्दै गएको छ ।
यस क्षेत्रको थप विकासका लागि राज्यले होटल तथा हस्पिटालिटी उद्योगलाई व्यवसायमैत्री बनाउने नीति तथा नियम ल्याउनु आवश्यक छ । सडक सञ्जाल विस्तार तथा सुधार, हवाई कनेक्टिभिटीलाई बलियो बनाउनु आजको अपरिहार्य आवश्यकता हो । विशेष गरी नेपाल एयरलाइन्सलाई थप व्यवस्थित र सक्षम बनाउँदै अन्तर्राष्ट्रिय उडान संख्या बढाउनु आवश्यक छ । युरोप, अष्ट्रेलिया तथा एसिया–प्यासिफिक क्षेत्रतर्फ नियमित र प्रत्यक्ष (डाइरेक्ट) उडान व्यवस्था गर्न सकियो भने अहिले नेपाल आउने पर्यटकभन्दा करिब तीन गुणा बढी पर्यटक भित्र्याउन सकिने सम्भावना छ । हवाई कनेक्टिभिटी विस्तार भएमा पर्यटक आगमन बढ्नेछ, जसको प्रत्यक्ष फाइदा होटल, रेष्टुरेन्ट, यातायात तथा अन्य सेवा क्षेत्रमा पर्नेछ ।

होटल क्षेत्रले नेपालको अर्थतन्त्रमा योगदान पु¥याइरहेको छ । होटल संघ नेपालले सेवा गुणस्तर र खानाको स्तरमा विशेष ध्यान दिँदै आएको छ । यी अभ्यास काठमाडौंमा मात्र सीमित नराखी देशका अन्य पर्यटकीय गन्तव्यहरूमा पनि लागू गरिएको छ । आज नेपालको जुनसुकै क्षेत्रमा पर्यटक पुगे पनि, उसले गुणस्तरीय सेवा पाउने वातावरण बन्दै गएको छ । केही समय अघिसम्म काठमाडौंमा मात्र सीमित रहेका तारे होटलहरू अहिले पूर्वदेखि पश्चिमसम्म विस्तार भई सेवा प्रवाह गरिरहेका छन् ।

नेपाली हस्पिटालिटी क्षेत्रले ठूलो सम्भावना बोकेको छ । राज्य, निजी क्षेत्र र सरोकारवालाहरूबीच सहकार्य बढाउन सकियो भने यो क्षेत्रले अझै तीव्र प्रगति गर्न सक्छ । स्थिर नीति, सुदृढ कनेक्टिभिटी र गुणस्तरीय सेवाको संयोजनले नेपाललाई विश्व पर्यटन नक्सामा अझ मजबुत रूपमा स्थापित गर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।

You might also like

Comments are closed.