विचार, दूरदर्शिता र सिद्धान्तको चरम खडेरीबाट गुज्रिँदै नेपाली राजनीति यतिबेला सस्तो लोकप्रियतावाद (Populism) र नैतिक विचलन (Moral Deviation) को चपेटामा परेको छ । परम्परागत राजनीतिक दलहरूको अकर्मण्यता र नैतिक स्खलनको जगमा आम नागरिकमा जुन आक्रोश र असन्तोष पैदा भएको थियो, त्यसैको आडमा एउटा नयाँ तथा अभियन्तामुखी नेतृत्वको उदय त भयो । तर सत्ता र शक्तिको बागडोर हातमा परेपछि उनीहरू स्वयं उस्तै कमजोरी र नैतिक असङ्गतिहरूको दलदलमा फसेका छन् ।
काठमाडौँको लामो बसाइ र स्वदेशमै केही गरौँ भनी संघर्ष गरिरहेको एक युवा उद्यमीको अनुभवका आधारमा अहिलेको सामाजिक–राजनीतिक परिदृश्यलाई केलाउँदा मैले जे नजिकबाट महसुस गरेँ, तिनै यथार्थहरूलाई यहाँ राख्ने कोसिस गरेको छु । कुनै पनि अन्धसमर्थन वा अन्धविरोध नगरी, निरपेक्ष सत्यको धरातलमा उभिएर गलत प्रवृत्तिका विरुद्ध बोल्नु हामी प्रत्येक सचेत नागरिकको परम कर्तव्य हो ।
सामाजिक सञ्जालको अराजकता र ‘भर्चुअल भीडतन्त्र’
वर्तमान राजनीतिक नेतृत्वको सबैभन्दा ठूलो असफलता र उच्छृङखल रूप आज सामाजिक सञ्जालका पर्दाहरूमा छरपष्ट देखिएको छ । नेतृत्व तहमा बस्नेहरूले गर्ने सतही पोस्ट, गैरजिम्मेवार टिप्पणी र आक्रोशपूर्ण अभिव्यक्तिहरूलाई नै आजका आम युवाले आफ्नो राजनीतिक ‘लाइन’ र ‘आदर्श’ मान्न थालेका छन् ।
यदि सामाजिक सञ्जालमा कसैले सत्ता पक्षको कमजोरी औंल्याएर लेख्यो भने विपक्षका साइबर सेनाहरू उसको खैरो खन्न लागिपर्छन् । अनि विपक्षका कमजोरीको आलोचना भयो भने सत्ता पक्षका समर्थकहरू मर्यादाका सबै सीमा नाघेर निकृष्ट गाली–गलौजमा उत्रिन्छन् ।
राजनीतिक नेतृत्वले स्थापित गरेको यो कुरुप भाष्यका कारण आज सामाजिक सञ्जालका टिप्पणी खण्डहरू विवेकशील नागरिकलाई मानसिक रूपमा विक्षिप्त बनाउने खालका भएका छन् । जब युवाहरूले आफ्ना आदर्श मानिएका नेताहरूलाई नै अर्काको हुर्मत लिएको र कूटनीतिक मर्यादा भुलेको देख्छन्, तब उनीहरूमा ‘हामीले पनि यही गर्नुपर्ने रहेछ’ भन्ने गलत सिकाइ स्थापित हुन्छ । संवाद र तर्कको ठाउँ जब गाली र ट्रोलले लिन्छ, तब नेपाली समाजको सभ्यता, सहिष्णुता र विवेकको घाँटी निमोठिन्छ ।
राज्यको सन्तुलन र अन्तर्राष्ट्रिय वजनमाथिको जोखिम
केवल सडकको आक्रोश र सस्तो टिकाटिप्पणीले मात्र देश चल्न सक्दैन । राज्य सञ्चालन, जटिल ऐन–कानुन निर्माण र दीर्घकालीन अर्थतन्त्र हाँक्न आवश्यक पर्ने संस्थागत अनुभवको अभावले गर्दा नयाँ भनिएको नेतृत्व नीतिगत रूपमा अलमलिएको स्पष्ट देखिन्छ ।
नेतृत्व तहमा पुग्ने व्यक्तिको बोली, व्यवहार र अभिव्यक्तिले राज्यको मर्यादा बोकेको हुन्छ । भीडलाई खुसी पार्न गरिने उच्छृङखल टिप्पणी, पदीय दायित्व बिर्सेर राज्यका जिम्मेवार निकायका प्रमुखहरूलाई सार्वजनिक रूपमा थर्काउने शैली र हल्कापनले अन्तर्राष्ट्रिय मञ्चमा देशको कूटनीतिक तौल तथा विश्वसनीयतालाई कमजोर बनाउँछ ।
राजनीति जब ठोस एजेन्डामा होइन, व्यक्ति–केन्द्रित गाली र उत्तेजनामा चल्छ, तब समाजमा ध्रुवीकरण तीव्र हुन्छ । यसले कार्यपालिका, न्यायपालिका र निजामती प्रशासन जस्ता राज्यका संवेदनशील अङ्गहरू बीचको शक्ति सन्तुलनलाई भत्काएर अन्ततः संस्थागत अराजकता निम्त्याउँछ ।
सडकको सहानुभूतिदेखि नैतिक स्खलनसम्म
सडकको आक्रोश कसरी व्यक्तिगत राजनीतिक सिँढी बन्छ र शक्तिमा पुगेपछि कसरी नैतिक विचलन हुन्छ भन्ने कुरालाई पछिल्ला केही प्रतिनिधि घटनाक्रमले छरपष्ट पारेका छन् ।
हिजोका दिनमा खुट्टामा ३ केजीको फलामे नेल (सिक्री) बाँधेर उत्पीडित वर्ग र दलित अधिकारको एजेन्डा बोकी सडकमा रुँदै हिँड्दा आम नागरिक र सञ्चारमाध्यमले जुन सद्भाव देखाएका थिए, त्यो आज संसद् जस्तो गरिमामय ठाउँमा पुग्ने भ¥याङ मात्र साबित भयो ।
आज तिनै जनप्रतिनिधिहरूमाथि महिला हिंसा, आपत्तिजनक धम्की, अश्लील अडियो संवाद, ब्ल्याकमेलिङ र कानुनी कठघराबाट फरार रहेका गम्भीर कानुनी तथा नैतिक प्रश्नहरू ओइरिएका छन् । विडम्बना त यो छ कि, नयाँ र वैकल्पिक भनिने दलका शीर्ष नेतृत्वले आफ्ना नेताहरूका यस्ता कमजोरीलाई सच्याउनु वा कानुनी कारबाहीको दायरामा ल्याउनुको साटो उल्टै संरक्षण र लाचार प्रश्रय दिइरहेका छन् । आफ्नो भोट बैंक र दलीय स्वार्थका लागि आफ्नाका गल्ती ढाकछोप गर्ने यो शैली पुराना भनिएका दलहरूभन्दा किमार्थ फरक छैन ।
जब राज्यको नेतृत्व तहले गल्ती गर्नेलाई दण्डित गर्नुको साटो काँध हाल्छ र गाली-गलौज गर्नेलाई ‘नायक’ बनाउँछ, तब समाजमा ‘गलत गरे पनि बलियो शक्तिको ओत लागे उम्किन सकिन्छ’ भन्ने अराजक भाष्य स्थापित हुन्छ । राज्यका संयन्त्रहरू र प्रश्न उठाउने निकायहरूलाई लत्याउँदा आम नागरिकमा प्रणालीप्रति पूर्णतः वितृष्णा पैदा हुन्छ ।
जेन–जी आन्दोलनको साख र युवा नेतृत्वको विचलन
परिवर्तन र सुशासनको एजेन्डा बोकेर ऐतिहासिक भदौ २३ को जेन-जी जनआन्दोलनमा युवाहरू जुन पवित्र उद्देश्यका साथ होमिएका थिए, त्यसको परिणाम आज दुःखद मोडमा पुगेको छ । युवाहरूको निष्कपट आक्रोशलाई सम्बोधन गर्नुको साटो राज्यले निरङकुश शैली अपनाएर, दमन गरेर र कानुनी फन्दामा पारेर उनीहरूको आवाजलाई मत्थर पार्ने कुत्सित प्रयास ग¥यो ।

अर्कोतर्फ, जेन-जी पुस्ताले उठाएका भ्रष्टाचार विरोधी र नीतिगत परिवर्तनका उत्कृष्ट एजेन्डाहरूलाई मूलधारका चतुर राजनीतिक खेलाडीहरूले बडो चालाकीपूर्वक आफ्नो भोट बैंक बलियो बनाउन प्रयोग गरे । युवाहरूको रगत र पसिनाको उपलब्धिलाई पुराना र नयाँ सत्तास्वार्थीहरूले आफ्नो व्यक्तिगत स्वार्थमा ‘स्खलित’ पारिदिए । आन्दोलनको अग्रभागमा रहेका युवा नेतृत्वहरू आज संस्थागत मार्गचित्रको अभाव र राज्यको चौतर्फी प्रहारका कारण मूल परिदृश्यबाट बाहिर धकेलिएका छन् ।
निकासको मार्गचित्र
१. आक्रोशबाट नीतितर्फको रूपान्तरण : सडकको भीडले व्यवस्था हल्लाउन त सक्छ, तर संस्थागत परिपक्वता बिना त्यसलाई जोगाउन सकिँदैन । तसर्थ, केवल टिप्पणी र गाली–गलौजमा रमाउने भीड होइन, नीति, विचार र बलियो सङ्गठन निर्माणमा लाग्नुपर्छ ।
२. संस्थागत सिकाइ : अपरिपक्वता स्थायी रोग होइन । नयाँ नेतृत्वले विभिन्न क्षेत्रका बौद्धिक र विज्ञ वर्गलाई समेटेर राज्यका नियम, कानुन र प्रशासनिक संयन्त्रको व्यावहारिक ज्ञान लिनु जरुरी छ ।
३. कडा आन्तरिक अनुशासन : आफ्ना नेता वा सांसदको गल्तीमा नेतृत्वले संरक्षण दिने होइन, बरु कडा आत्मसमीक्षा र कारबाही गर्ने आँट देखाउनुपर्छ; ताकि समाजले गलत होइन, सही नजिर सिक्न सकोस् ।
निष्कर्ष
नेपाली राजनीतिका यी दुवै प्रवृत्तिलाई न त अन्धभक्त भएर स्वागत गर्नुपर्ने आवश्यकता छ, न त पूर्ण रूपमा निराशामा बदल्नुपर्ने अवस्था नै छ। यथार्थ यो हो कि आक्रोश र सस्तो पपुलिज्मले मात्र देश बन्दैन र परम्परागत नैतिक विचलनले देश चल्न सक्दैन ।
अपरिपक्व नेतृत्वले आफूलाई व्यक्तिगत स्वार्थ र गाली-गलौजबाट माथि उठाएर नीतिगत रूपमा परिमार्जित गर्दै लैजानु र पुराना नेतृत्वले आफ्नो नैतिक धरातल सुधार्नु नै आजको वस्तुनिष्ठ आवश्यकता हो । राज्यको सन्तुलन, वजन र सामाजिक मूल्य जोगाउन अब ‘सस्तो आक्रोश’ मात्र होइन, ‘परिपक्वता, चारित्रिक सुदृढता र नैतिक निष्ठा’ सहितको स्पष्ट विचार आवश्यक छ ।
(लेखक बस्याल उद्योगी हुन् । यहाँ व्यक्त विचार उनका निजी हुन् ।)





Comments are closed.