नेपालमा फ्लाइङ कार, नाडा अटो शोमा Deepal eVTOL सार्वजनिक

काठमाडौं  । नेपालकै अटोमोबाइल इतिहासमा पहिलोपटक फ्लाइङ कार Deepal eVTOL औपचारिक रूपमा सार्वजनिक गरिएको छ । नाडा अटो शो २०२५ को पहिलो दिनमै सम्पन्न यस ऐतिहासिक अनावरणले नेपाललाई दिगो र भविष्य–मुखी यातायात प्रणालीतर्फ अग्रसर गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा, एमएडब्लु वृद्धि ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरियाले संयुक्त रूपमा डीपल eVTOL अनावरण गरे ।  अध्यक्ष अग्रवालले भने, ‘नेपालमा भविष्यको यातायात ल्याउने दिशामा यो ठूलो उपलब्धि हो ।’ त्यस्तै, प्रबन्ध निर्देशक सिकरियाले भने, “नेपालको यातायात प्रणालीलाई नयाँ परिभाषा दिन सक्ने प्रविधि ल्याउन पाउँदा हामी गर्वित छौं ।”

डीपल eVTOL, साधारण गाडी मात्र नभई उड्न सक्ने कार हो, जसलाई चीनको अग्रणी अटोमोबाइल निर्माता चांगान अटोमोबाइल र विश्वकै अगुवा अटोनोमस हवाई सवारी निर्माता EHang ले सहकार्यमा तयार गरेका हुन् । डीपल, चांगानको नयाँ इनर्जी सब-ब्रान्ड हो भने EHang ले पहिलो पटक पाइलटविहिन यात्रु बोक्ने eVTOL व्यावसायिक रूपमा उपलब्ध गराएको थियो ।

यो प्रविधिको उद्देश्य हवाई यातायातलाई केवल विलासिता नभई सुरक्षित, वातावरणमैत्री, सजिलो र सर्वसाधारणको लागि पहुँचयोग्य बनाउन हो। नाडा अटो शो २०२५ मा प्रदर्शित Deepal eVTOL नै यी कम्पनीहरूको सहकार्यको प्रत्यक्ष नतिजा हो । Deepal eVTOL सीधै उड्न र अवतरण गर्न सक्षम Vertical Take-off and Landing (VTOL) क्षमतासहित आएको छ । यसले ट्राफिक भीड घटाउने, ध्वनि प्रदूषण न्यून गर्ने र कार्बन उत्सर्जन नियन्त्रण गर्ने अपेक्षा गरिएको छ। अत्याधुनिक इलेक्ट्रिक प्रपल्सन र स्मार्ट डिजाइनले यसलाई भविष्यको दिगो यातायातको प्रतिक बनाएको छ।

चांगानले सन् २०३० सम्ममा २.७६ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गरी थप अत्याधुनिक यातायात समाधान विकास गर्ने योजना सार्वजनिक गरेको छ। नेपालमा पहिलोपटक फ्लाइङ कारको प्रदर्शन गर्वको क्षण मानिएको छ। यसले नेपाललाई विश्वका दिगो यातायात प्रविधि अपनाउने मुलुकहरूको श्रेणीमा उभ्याएको छ । लामो समयदेखि विश्वस्तरीय सवारीसाधन नेपाली बजारमा भित्र्याउँदै आएको एमएडब्लु वृद्धि ग्रुपका लागि यो अर्को महत्वपूर्ण उपलब्धि हो ।

You might also like

Comments are closed.