काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आज एक विशेष समारोहका साथ आफ्नो औपचारिक शुभारम्भ गरेको छ। “मोबिलिटीमार्फत विकासको सशक्तीकरण” नारासहित नाइमा घोषणा गरिएको हो ।
ऋतु सिंह वैद्यको नेतृत्वमा नाइमा गठन भएको हो । आफ्नो मन्तव्यमा अध्यक्ष वैद्यले संघको दृष्टिकोण, उद्देश्य तथा पाँच आधारभूत स्तम्भहरूबारे जानकारी दिएकी छिन् ।
संघको उद्देश्य र रणनीति
संघले आफूलाई नेपालको अटोमोबाइल र मोबिलिटी क्षेत्रको साझा आवाजको रूपमा प्रस्तुत गर्दै नीतिगत वकालत, नवप्रवर्तन प्रवर्द्धन, पूर्वाधार सुदृढीकरण, र उपभोक्ता सशक्तीकरण जस्ता क्षेत्रमा काम गर्ने जनाएको छ। वैद्यले भनिन्, “हामीले यो संघलाई कुनै पनि राजनीतिक झुकावबिनाको स्वतन्त्र र समावेशी मञ्चको रूपमा अगाडि बढाउनेछौं, जसले सर्वसम्मतिको आधारमा निर्णय लिन्छ।”
नाइमा को भावी योजनालाई मार्गदर्शन गर्ने पाँच आधारभूत स्तम्भहरू
सबैका लागि मोबिलिटी समाधान
सुरक्षा तथा पूर्वाधार सुदृढीकरण
नीति तथा नियमनको वकालत
जनशक्ति विकास र उद्योगका उत्कृष्ट अभ्यासहरू
उपभोक्ता सशक्तीकरण तथा साझा मोबिलिटी
नेपाल मोबिलिटी एक्स्पोको घोषणा
कार्यक्रमको विशेष आकर्षणको रूपमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को आधिकारिक घोषणा गरियो, जुन नेपालमै हालसम्मको सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनी हुने दाबी गरिएको छ।
नाइमा अटोशो समिति सदस्य गौरव शारडाले एक्स्पोको लोगो र मिति सार्वजनिक गर्दै जानकारी दिए । प्रदर्शनी २०८२ साउन २१ देखि २५ गते (९२०२५ अगस्ट ६–१००) सम्म भृकुटी मण्डप, काठमाडौं मा आयोजना हुनेछ।
एक्स्पोको आयोजना व्यवस्थापन मिडिया स्पेस सोलुसनमार्फत हुनेछ । जसमा विभिन्न थीम जोनहरू, प्रदर्शकहरू, नवप्रवर्तन समाधानहरू तथा मोबिलिटी प्रविधिको भविष्यबारे चासो राख्ने सबैका लागि सहभागी हुन आह्वान गरियो।
संस्थापक बोर्ड सदस्यहरूको घोषणा
कार्यक्रममा सुहृद राज घिमिरे, शेखर गोल्छा, क्याबिनेट श्रेष्ठ, सौरभ ज्योति, संदीप कुमार शारडा, निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, निकुन्ज अग्रवाल, हेमन्त गोल्छा र दयन काबरा लाई संघका संस्थापक बोर्ड सदस्यहरू को रूपमा परिचय गराइएको थियो।
कार्यक्रमको अन्त्यमा सुहृद राज घिमिरे ले समापन मन्तव्य दिँदै सबैलाई धन्यवाद दिदै यो अवसरले नेपालको अटोमोटिभ क्षेत्रका लागि नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरे ।
Comments are closed.