बढ्यो नेप्से 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ४७ अंकले बढेर दुई हजार ४५ दशमलव ४५ अंकमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत दुई सय ७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता शेयर ४४ हजार तीन सय ४० पटक खरिदबिक्री हुँदा रू एक अर्ब ५१ करोड चार लाख ८८ हजार नौ सय ८४ बराबरको कारोबार भएको छ ।
आज सबै समूहका उपसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय ७६ दशमलव २९ अंकले र निर्जीवन बीमा समूहको उपसूचक दुई सय ३२ दशमलव २२ अंकले बढेको छ । बैंकिङ समूह नौ दशमलव ५४, विकास बैंक ४३ दशमलव ५५, वित्त ३३ दशमलव ८२, होटल तथा पर्यटन ५७ दशमलव २८ र लगानी समूह एक दशमलव ०७ अंकले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन ४२ दशमलव ८०, लघुवित्त ६१ दशमलव ८०, म्युचुअल फन्ड शून्य दशमलव १२, व्यापार ५५ दशमलव ४९ र अन्य समूह १३ दशमलव ३७ अंकले बढेको छ । कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ अंकले बढेको छ भने धेरै घट्नेमा सिजिटन्स सुपर–३० म्युचुअल फन्डको शेयर मूल्यमा सात दशमलव ४२ प्रतिशतको गिरावट आएको छ ।
     कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको रू सात करोड ५७ लाख ६५ हजार आठ सय ९४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सोल्टी होटल लिमिटेडको एक लाख ५१ हजार सात सय १३ कित्ता शेयर किनबेच भएको छ । रासस
You might also like

Comments are closed.