बढेर बन्द भयो नेप्से, कारोबार रकम ८ अर्ब ७४ करोड माथि

काठमाडौं । आज (बुधबार) शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक १.०३ अंकले वृद्धि भई २,६११.०० विन्दुमा कायम भएको हो । आज कारोबार रकममा भने उत्साहजनक वृद्धि देखिएको छ ।

दिनभरिमा ३१८ कम्पनीहरुको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता शेयर किनबेच हुँदा कुल ८ अर्ब ७४ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये १२० कम्पनीको शेयर मूल्य बढेको छ भने १२६ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । बाँकी कम्पनीहरुको शेयर मूल्य भने स्थिर रहेको छ ।

सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार

आज कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ । यस कम्पनीको सर्वाधिक ९२ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । त्यसैगरी, दोस्रोमा ङादी ग्रुप पावर लिमिटेडको ६७ करोड ३२ लाख रुपैयाँ र तेस्रोमा राधि विद्युत कम्पनी लिमिटेडको ३८ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए

आज सर्वाधिक कमाउने लगानीकर्ताहरुमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयरधनी रहेका छन् । यस कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ९.९९ प्रतिशत, ओम मेगा श्री इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशत र रिडी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले कमाएका छन् ।

विन नेपाल लघुवित्तका लगानीकर्ताले गुमाए

अर्कोतर्फ, आज सबैभन्दा धेरै गुमाउनेमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता परेका छन् । यस कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लागेको छ, अर्थात् लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले गुमाएका छन् ।

You might also like

Comments are closed.