काठमाडौं । बजारको पूर्वाधार र नियमनको अवस्था हेर्दा ब्रोकरहरूको प्रदर्शन सन्तोषजनक नै मानिए पनि लगानीकर्ताको विश्वास जित्न अझै जवाफदेही र उत्तरदायी बन्नुपर्ने आवश्यकता देखिएको (नेप्से)का प्रवक्ता मुराहरी पराजुली बताउँछन् ।
नेपालको पूँजीबजारमा ब्रोकरहरूको भूमिका र उनीहरूको कार्यशैलीका बारेमा प्रवक्ता पराजुलीका अनुसार नेपाली सेयर बजार अत्यधिक नियमन गरिएको बजार हो, जहाँ ब्रोकरहरूको भूमिका अझै पनि केही हदसम्म सीमित नै छ । पछिल्लो समय नेपालमा ब्रोकरहरूलाई उनीहरूको कार्यक्षमता र पूँजीका आधारमा विभिन्न श्रेणीमा विभाजन गरिएको छ । मुख्य रूपमा कमिसन ब्रोकर र फुल फेज ब्रोकर गरी दुई भूमिका स्पष्ट पारिएको छ ।
कमिसन ब्रोकरहरूले मुख्य रूपमा ग्राहकका लागि सेयर खरिद र बिक्री गर्ने कार्य मात्र गर्दछन् । यिनीहरूका लागि न्यूनतम २० करोड रुपैयाँ पूँजी तोकिएको छ । यस्तै, फुल फेज ब्रोकरहरूले खरिद–बिक्रीका साथै मार्जिन सुविधा लगायतका अन्य थप वित्तीय सेवाहरू प्रदान गर्न सक्ने अधिकार राख्दछन् । यस श्रेणीका लागि ६० करोड र अर्को तहका लागि १.५ अर्ब रुपैयाँसम्मको पूँजी निर्धारण गरिएको छ ।
नेप्से प्रवक्ता पराजुलीका अनुसार नेपालको बजार ओपन वा फ्लेक्सिबल (लचिलो) मार्केट होइन । “यहाँ ब्रोकरहरूले आफ्नो तजबिजी अधिकार प्रयोग गरेर सेवाको गुणस्तर वा शुल्कमा थपघट गर्न पाउने अवस्था छैन । सबै कुरा नियम र कानुनले स्पष्ट रूपमा निर्धारण गरिदिएको छ,” उनी भन्छन्, “तर, व्यवहारिक पक्षमा भने एउटा भिन्नता देखिएको छ । नीतिगत रूपमा ब्रोकरहरूलाई वर्गीकरण गरिए पनि आजको दिनसम्म सबैले करिब एउटै प्रकृतिको काम गरिरहेका छन् ।” फुल फेज ब्रोकरहरूले पनि कमिसन ब्रोकरले जस्तै मात्र काम गरिरहेको र भूमिका स्पष्ट रूपमा विभाजित भई नसकेको उनको भनाइ छ ।




Comments are closed.