कारोबार सुरुवातीमा ३ हजार कटेको नेप्से अन्तिममा १३.५६ अंकले करेक्सन

काठमाडौं । तेस्रो कारोबार दिनसम्म लगातार बढेको नेप्सेमा चौथो कारोबार दिन बुधबार १३.५६ अंकले गिरावट आएको छ । कारोबारको सुरुवाती समयमा ३ हजार क्रस गरेको सूचक उचारचढाबका बीच २९४६.५८ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । अघिल्लो दिन मंगलबार ५३.४४ अंकले नेप्से परिसूचक बृद्धि भएर २९६०.१४ विन्दुमा पुगि रेकर्ड ब्रेक भएको थियो । बुधबार सेन्सेटिभ तर्फ पनि २.८३ अंकले सूचक घटेर ५२५.२८ विन्दुमा बन्द भएको छ ।

बुधबार २२१ वटा कम्पनीको १ लाख ५५ हजार २ सय ३९ पटकको कारोबारमा ३ करोड १३ लाख ५४ हजार कित्ता खरिद बिक्री भएका छन् । बुधबार १६ अर्ब ९९ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ट्रेडिङ, फाइनान्स, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, जीवन बिमा र म्युचुअल फण्डको सेयर मूल्य बढेको छ भने अन्य सब इन्डेक्सको सेयर मूल्य घटेको छ ।

बुधबार ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । युनाइटेड मोदी हाइड्रोपावर, नेपाल इन्स्योरेन्स कम्पनी, रिदी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स, प्रभू इन्स्योरेन्सको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

युनाइटेड इदिमर्दी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी झण्डै १० प्रतिशतले घटेको छ । महालक्ष्मी विकास बैंक र साइन रेसुङगा डेभलपमेन्ट बैंकको सेयर मूल्य ६ प्रतिशत भन्दा बढी घटेको छ । अरुण भ्याली हाइड्रोपावरको सबै भन्दा बढी ८७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

You might also like

Comments are closed.