नेत्रज्योति संघद्वारा हुम्ला र कालिकोटमा २३५ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

काठमाडौं– हुम्ला र कालिकोटमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा १ हजार ६८८ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षण गरेका मध्ये २३५ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।

नेपाल नेत्र ज्योति संघ,हिमालय आँखा अस्पताल पोखराको आयोजना एवं प्राविधिक सहयोग,नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक सहयोग र आइ केयर फाउण्डेशनको विशेष सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

चैत्र २५ गतेदेखि २७ गतेसम्म जिल्ला आँखा उपचार केन्द्र, कालीकोटको स्थानीय आयोजनामा चलेको आँखा शिविरमा १ हजार ७८ जनाको आँखा जाँच गरि २०० जनालाई चस्मा वितरण गरिएको थियो भने १९२ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया समेत गरिएको थियो ।

त्यस्तै वैशाख १ देखि ३ गतेसम्म चंखेली गाउँपालिका पिप्लाङ, हुम्लाको स्थानीय आयोजना चलेको आँखा शिविरमा ६१० जनाको आँखा जाँच गरी २१० जनालाई चश्मा वितरण गरिएको थियो भने ४३ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया समेत गरिएको थियो ।
आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहिन बस्न बाध्य भएका बिरामीले आफ्नो घर आँगनमै आँखा उपचार सेवा पाएपछि खुसी हुँदै स्वास्थ्यकर्मीलाई धन्यवाद समेत दिएका थिए । कोही पनि नागरिक पहुँच र आर्थिक अभावमा दृष्टिविहिन भएर बस्न नपरोस् भन्ने हेतुले विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा देशैभरी निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको संस्थाले जानकारी दिएको छ ।
नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराका नेत्रअधिकृत गोबिन्दनाथ योगिको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरुको टोलिले आँखा शिविर सञ्चालन गरेको हो । उक्त टोलीले मुगु, हुम्ला र कालिकोट जिल्लामा ४ वटा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न गरेको छ ।
नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी वार्षिक हजारौँ निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।
नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरमार्फत हरेक जिल्लाका नागरिकलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.