विमलबहादुर विष्ट/डोटी । जिल्लाका ९ वटै स्थानीय तहले एकै वर्षमा बैठक भत्तावापत १ करोड रुपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबै स्थानीय तहले आर्थिक वर्ष २०७५/७६ मा बैठक भत्तावापत मात्रै १ करोड ९० लाख ६१ हजार ५२ रुपैयाँ खर्चेका हुन् ।
कार्यालयले वेबसाइटमार्फत सार्वजनिक प्रतिवेदनअनुसार जिल्लाको शिखर नगरपालिकाले सबैभन्दा बढी ३९ लाख, दिपायल सिलगढी नगरपालिकाले २९ लाख ४३ हजार ५ सय रुपैयाँ, पूर्वीचौकी गाउँपालिकाले १८ लाख ९७ हजार ३ सय १२, सायल गाउँपालिकाले १७ लाख ३० हजार ५ सय रुपैयाँ र केआइसिंह गाउँपालिकाले २१ लाख ३६ हजार ४ सय रुपैयाँ बैठक भत्तामा खर्च गरेको पाइएको हो ।
यसैगरी जोरायल गाउँपालिकाले रु २६ लाख नौ हजार ३ सय, बडिकेदार गाउँपालिकाले रु १२ लाख ३६ हजार र आदर्श गाउँपालिकाले रु २६ लाख आठ हजार ४० खर्च गरेकाले प्रतिवेदनमा बैठक भत्ता नियमसङ्गत नभएको उल्लेख गरिएको छ ।
सुदूरपश्चिम प्रदेशसभाले निर्माण गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी (पहिलो संशोधन) ऐन, २०७६मा स्थानीय तहका पदाधिकारीले बैठक भत्तावापत १ हजार रुपैयाँ लिन पाउने र एक महिनामा दुई पटकभन्दा बढी बैठकको भत्ता लिन नपाउनेसमेत व्यवस्था गरिएको छ । जनप्रतिनिधिले आफूखुशी भत्ता लिएको भन्दै यहाँका नागरिक आक्रोशित छन् ।
बोगटान फुड्सिल गाउँपालिकाको बैठक भत्ताबारे उल्लेख नगरिए पनि दैनिक भ्रमण भत्ता भने सबैभन्दा बढी १९ लाख ६२ हजार ८२५ रुपैयाँ खर्च गरिएको प्रतिवेदनमा देखाइएको छ । यस्तै केआइसिंहले १७ लाख १२ हजार ५२४ रुपैयाँ , सायलले १३ लाख ३८ हजार ५०५, आदर्शले १३ लाख २० हजार ७२५, शिखरले १२ लाख ८५ हजार, बडीकेदारले १२ लाख ३५ हजार ९६०, पूर्वीचौकीले ११ लाख ४७ हजार ४०० र जोरायलले सबैभन्दा कम ६ लाख २ हजार ९०७ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
दिपायल सिलगढीको दैनिक भ्रमण भत्ताका विषयमा भने केही उल्लेख गरिएको छैन । उक्त भत्ता बुझ्ने स्थानीय तहका पदाधिकारीमध्ये पूर्वीचौकीका अध्यक्ष दीर्घराज बोगटी सबैभन्दा अगाडि छन् । उनले आव २०७५/७६ मा ३ लाख ५३ बुझेको को प्रतिवेदनमा उल्लेख छ । यसैगरी बोगटान फुड्सिलका अध्यक्ष कमल गड्सिलाले पनि ३ लाख ३८ हजार ९ सय रुपैयाँ, जोरायलका अध्यक्ष दुर्गादत्त ओझाले ३ लाख २४ हजार ६ सय, सायलका अध्यक्ष तेजबहादुर डुम्रेलले २ लाख ९५ हजार ७ सय र केआइसिंहका अध्यक्ष लोकेन्द्र शाहीले २ लाख ६५ हजार रुपैयाँ भ्रमण भत्ता बुझेको पाइएको छ ।
आदर्शका अध्यक्ष टेकबहादुर रोकायाले २ लाख ५२ हजार ७ सय, शिखरका प्रमुख सीताराम जोशीले २ लाख २३ हजार ४२५ र बडिकेदारका कृष्णबहादुर चन्दले रु एक लाख ८३ हजार ५ सय दैनिक भ्रमण भत्ता बुझेको देखिएको छ ।
स्थानीय तहका उपप्रमुखमध्ये सबैभन्दा बढी दैनिक भ्रमण भत्ता बुझ्ने बोगटान फुड्सिलका उपाध्यक्ष भगवतीदेवी बम रहेकी छन् । उनले एक वर्षमा २ लाख ५९ हजार ३१५ बुझेकी छन् । यस्तै बडिकेदारका उपाध्यक्ष इन्द्रा बोहरा भाटले पनि २ लाख ४६ हजार ६३५ भत्ता बुझेकी छन् ।
शिखरका उपप्रमुख धौलीदेवी रावलले २ लाख ९ हजार ६२५ तथा उपाध्यक्षहरू मध्ये सायलका विष्नादेवी सिंहले २ लाख सात हजार ५२५, जोरायलका जमुना बोहराले २ लाख ७५७, केआइसिंहका मीना विष्टले १ लाख ९० हजार ७७५ र आदर्शका कमलादेवी ओझाले १ लाख ८४ हजार ७२५ बुझmेको देखिएको छ । सबैभन्दा कम रकम बुझ्नेमा पूर्वीचौकीका उपाध्यक्ष निर्मला साउद छन् । उनले १९ हजार ५५० मात्रै दैनिक भ्रमण भत्ता बुझेको प्रतिवेदनले उल्लेख छ ।






Comments are closed.