१ अर्ब ५२ करोड ३७ लाख रुपैयाँको गेडागुडी आयात

मेनका चौधरी/बाँके । नेपालगञ्ज नाकाबाट एक वर्षमा १ अर्ब ५२ करोड ३७ लाख रुपैयाँ बराबारको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६/७७ मा १ अर्ब १० करोड ८८ लाख रुपैयाँको मात्र आयात भएको थियो ।

यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हँुदै गएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा ८९ करोड रुपैयाँको चामल आयात भएको छ । आव ०७६७७ भन्दा यो झण्डै २९ करोडभन्दा बढी हो ।

आव ०७७/७८ मा ८८ करोड ९८ लाख ४२ हजार ९६ रुपैयाँको ती खाद्यान्न आयात भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार आव ०७६/७७ मा ६० करोड १० लाख १५ हजार १४४ रुपैयाँ बराबरको आयात भएको थियो । आव ०७५÷७६ मा ४९ करोड ७१ लाख १५ हजार आठ सय १३ रुपैयाँको चामल आयात भएको देखिन्छ ।

नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ आयातमा पनि वृद्धि भएको छ । गत आवमा २ अर्ब ४६ करोड ७० लाखको पेट्रोल आयात भएको उनले बताए । आव ०७६/७७ मा एक अर्ब ९५ करोड ३९ लाखको आयात भएको थियो । “पेट्रोल र खाद्यन्न आयातमा वृद्धि हुनुले परनिर्भरता बढ्दै गएको छ भन्ने देखाउँछ,” उनले भने ।

कार्यालयका अनुसार गत आवमा ४ अर्ब ८८ करोड ३९ लाख ८८ हजार मूल्य बराबरको चिनी तथा चिनीजन्य वस्तु आयात भएको छ । यो पनि आव ०७६/७७ को तुलनामा धेरै हो । उक्त आवमा एक अर्व ४४ करोड ६२ लाख रुपैयाँको ती वस्तु आयात भएको थियो ।

सिमेन्टको क्लिङ्कर आयातमा भने गिरावट आएको छ । गत आवमा ३९ करोड १२ लाख रुपैयाँको क्लिङ्कर आयात हुँदा आव ०७६/७७ मा ४१ करोड ९३ लाख रुपैयाँको क्लिङकर आयात भएको थियो । “सिमेन्टको क्लिङ्कर आयातमा भने कमी देखिएको छ,” कार्यालय प्रमुख भण्डारीले भने, “लकडाउनका कारण सिमेन्ट कारखाना बन्द भएका कारण यस वर्ष भारतबाट क्लिङ्कर आयातमा कमी भएको हुनसक्छ ।”

You might also like
Ram Tulasi Palpa

Comments are closed.