बाढी पहिरो : ३ हजार घर डुबानमा, ९ सय घरमा क्षति

काठमाडौं । यसपालीको मनसुनका अवधिमा बाढीका कारण ३ हजार १८० घर डुबानमा परेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बाढी पहिरामा परेर ९ सय घरसहित १५३ गोठ, ६० पुल, ८ विद्यालय र १४ सरकारी कार्यालयमा क्षति पुगेको छ । जेठ ३० यता एक हजार ८७ पशु चौपाय मरेको छ ।

उक्त अवधिमा १ हजार १३० विपद्का घटनाबाट १ हजार २०९ घर परिवारका ५ हजार ९२४ जना विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । मनसुन भित्रिएसँगै नेपालमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी आजसम्म ९१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४६ पुरुष, २३ महिला, १० बालक र १२ बालिका छन् ।

बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ११६ जना घाइते भएका छन् । बाढीपहिरामा परी ४४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढीपहिरामा परेका एक हजार २७५ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

You might also like

Comments are closed.