पोखरा । विद्यार्थीमा व्यावसायिक भावना विकास गराउने उद्देश्यले पोखराको प्रतिभा माध्यमिक विद्यालयमा ‘व्यावसायिक योजना’ सम्बन्धी प्रतिष्पर्धा गराइएको छ । कक्षा ११ र १२ का व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीले ‘बिजनेस प्लान प्रेजेन्टेसन’ सम्बन्धी प्रतिष्पर्धामा भाग लिएका थिए ।
विद्यालयका प्राचार्य किरण सापकोटाले प्रतिष्पर्धामा २३ समूहले भाग लिएकामध्ये केही व्यक्तिगत रुपमा सहभागीता जनाएको बताए । कार्यक्रमको केसी ग्रुपका निर्देशक किरण केसी र विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले उद्घाटन गरेका हुन् । प्राचार्य सापकोटाले विद्यार्थीमा व्यावसायिक भावना विकास गराउने उद्देश्यले प्रतिष्पर्धा आयोजना गरिएको बताए । यस प्रतिष्पर्धाले विद्यार्थीमा भविश्यमा व्यावसायिक साँेच विकास हुने अपेक्षा लिइएको छ ।
‘नयाँ व्यावसायिक सोच विद्यार्थीमा विकास गराउनका लागि यो प्रतिष्पर्धा आयोजना भएको हो । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमा भएको व्यावसायिक सोँचलाई बाहिर ल्याउन पनि यसले सघाउँछ,’ उनले भने, ‘विद्यार्थीले व्यावसायिक क्षेत्रलाई कुन रुपमा बुझेका छन् भन्नेमा पनि यसले स्पष्ट पार्नेछ ।’
विद्यालयले हरेक वर्ष दसै र तिहारको बिदाको बेला पारेर विद्यार्थीलाई यो प्रतिष्पर्धाका लागि तयारी गर्न लगाउने गरेको छ । त्यही तयारीलाई प्रस्तुत गर्ने उनले बताए । विगत ३ वर्षदेखि नियमित रुपमा भइरहेको यो तेश्रो आयोजना हो । विद्यार्थीले तयार पारेका व्यावसायिक योजनामध्ये उत्कृष्ट योजना छनौट गर्ने र १२ कक्षापछि व्यावहारिक रुपमा उपयोग गरेमा विद्यालयले रु ५ लाखको बिउँपूँजी पनि दिनेछ ।
विद्यालयले विद्यार्थीमा रहेको क्षमता बाहिर ल्याउन विज्ञान विषयका विद्यार्थीका लागि विज्ञान प्रदर्शनी, व्यवस्थापनका विद्यार्थीका लागि व्यवासायिक योजना प्रस्तुती र होटल व्यवस्थापनका विद्यार्थीका लागि फूड फेस्टिभल पनि आयोजना गर्ने गरेको छ । युवाको व्यवसायिक सोँचलाई वास्तविकतामा परिणत गरेर भविष्यमा रोजगारी सिर्जना गर्न सकिन्छ । विद्यार्थीले प्रस्तुत गरेको योजनामध्ये उत्कृष्ट ३ वटा योजनालाई पुरस्कृत गरिनेछ ।
कार्यक्रममा प्रमुख अतिथि केसी ग्रुपका निर्देशक किरण केसीले कसैले पनि आफुलाई कमजोर नसोची अघि बढेमा सफलता हात पार्ने बताए । जीवनकालमा सिकेका धेरै कुराले मान्छेलाई व्यवहारिक बन्न सघाउने उनले बताए । विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीमा नयाँ व्यवासायिक सोचाई विकास गर्न यस्ता कार्यक्रम आवश्यक पर्ने बताए ।
प्रतिष्पर्धा गरेका विद्यार्थीले कृषिदेखि घरेलु उत्पादनलाई समेत योजना बनाएर त्यस अवसरमा प्रस्तुत गरेका थिए । निर्णायक समितिको नेतृत्व गरेर प्राध्यापक जसबहादुर गुरुङले विद्यालय तहबाटै विद्यार्थीमा व्यावसायिक चेतना विकास हुनु सकारात्मक रहेको बताए ।
कार्यक्रमको निर्णायकमा गुरुङ सहित स्याङजाको वालिङस्थित वाई सेन्टरका प्रमुख कार्यकारी दिनकर नेपाल र उद्यमी सन्ध्या पौडेल थिए । विद्यार्थीले गरेको प्रस्तुतीलाई विभिन्न ९ वटा आधारमा निर्णायक समितिका सदस्यले मुल्याङ्कन गरेका हुन् ।
Comments are closed.