काठमाडौं । २०४६ साल देखि बन्द भएको टीकापुर बिमानस्थल यहि मंसिर ३० गते देखि नियमित रुपमा संचालनमा आउन लागेको हो । टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल पुनः संचालनमा आउन लागेको हो यसका लागि नगरपालिकाले तारा एअर र यती एअरलाईन्स संग सहकार्य र समन्वय गरेको छ ।
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले विमानस्थलमा उडानका लागि तारा एअरसंग नगरपालिकाले न्युनतम १५ सिटको सुनिश्चितता सहित सहमति गरेको र यो सुनिश्चितताले आगामी दिनमा व्यवसायीक उडान नियमित गर्न सहज हुने जानकारी दिए । विमानस्थलमा केही समय अगाडी नेपाल एअरलाईन्सले परिक्षण उडान गरिसकेको र तारा एअरले एउटा व्यवसायीक उडान गरिसकेको छ ।
हाल आईतवार र बिहीबारका लागि उडान तालिका रहेको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए, यात्रुको माग बढेमा उडान थपिनेछ । उनले हाललाई काठमाण्डौं सम्मको भाडा रु। नौ हजार र नेपालगन्ज देखि टीकापुर सम्मको एकतर्फी भाडा रु. चार हजार पाँचसय निर्धारण गरिएको बताए । वहाले तारा एअर मार्फत टीकापुर- नेपालगन्ज – टीकापुर उडान हुने र यती एअरलाईन्सको नियमित उडानबाट काठमाण्डौं आवत जावत गर्ने तालिका मिलाईएको बताए । यात्रुहरुको सहजताका लागी तारा एअरले नेपालगन्ज बाट १२:३० बजे र टीकापुर बाट नेपालगन्जका लागि १:२० उडान गर्नेछ भने यतीको काठमाडौं – नेपालगन्ज को उडान तालिका बिहान १० बजे र नेपालगन्ज -काठमाण्डौं को उडान तालिका दिँउसो २:०५ बजे रहेको छ ।
टिकापुर आवत जावत गर्ने टिकट यती एअरलाईन्स तथा तारा एअरका वेबसाईट तथा सेल्स अफिसहरुबाट लिन सकिनेछ भने ईसेवा, खल्ती, फोन पे का साथै टीकापुरमा सिद्धार्थ होटल तथा काठमाण्डौंमा पथिल होलिडे मार्फत पनि लिन सकिने छ ।
तारा एअरले हाल ३ वटा टुईनअटर वायुयान मार्फत लुक्ला, फाप्लु, रामेछाप , जोमसोम, डोल्पा, सिमिकोट, बाजुरा, जुम्ला लगायतका विमानस्थलहरुमा नियमित तथा चार्टर उडान गर्दै आएको छ ।
Comments are closed.