सामाजिक विकास मन्त्रालय र चौधरी ग्रुपको आर्थिक सहयोगमा अक्सिजन उत्पादन सुरु

 

कर्णाली । वीरेन्द्रनगर नगरपालिकाद्वारा सञ्चालित कटकुवा नगर अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ । सामाजिक विकास मन्त्रालय र चौधरी ग्रुपको आर्थिक सहयोगमा नगरपालिकाले नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गरी उत्पादन सुरु गरेको हो ।

नगर प्रमुख देवकुमार सुवेदीले अस्पतालबाट परीक्षण उत्पादनसमेत भइसकेको जानकारी दिए । “प्लान्ट जडान र परीक्षण उत्पादन सफल भयो, चौबिस घण्टामा १५० देखि १७० थान सिलिन्डर भर्न सकिनेछ”, उनले भने, “अब अक्सिजन अभावको समस्या रहँदैन, यहाँबाट फ्युलिङ गरेर अन्य जिल्लामा पठाउन सहज हुनेछ ।” कोभिड–१९ को दोस्रो लहरको सुरुआती दिनमा कर्णाली प्रदेशमा अक्सिजनको चरम अभाव भएको थियो । जसले गर्दा अक्सिजन दिनुपर्ने श्वासप्रश्वासमा समस्या देखिएका गम्भीर प्रकृतिका बिरामीको उपचारमा समस्या भएको थियो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले नयाँ जडान थालिएका र पुराना गरी कर्णालीमा २० अक्सिजन प्लान्ट स्थापना हुने जनाएको छ । तीमध्ये ११ ठूला र नौ साना प्रकृतिका छन् । ठूला ११ प्लान्टमध्ये रुकुमपश्चिम र कालीकोटमा मात्र नयाँ प्लान्ट जडान भई सञ्चालनमा ल्याइएको छ भने अन्य क्षेत्रमा जडानकै क्रममा छन् । प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले अधिकांश अस्पतालमा अक्सिजन प्लान्ट जडान तथा सञ्चालन प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । प्रदेश अस्पताल सुर्खेतमा थप दुई वटा अक्सिजन प्लान्ट निर्माणको तयारी थालिएको छ ।

You might also like

Comments are closed.