वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा ३ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका(१० का २८ वर्षीय राकेशकुमार रावत, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ११ का ३३ वर्षीय दुधराज थिङ र दाङ तुल्सीपुर उपमहानगरपालिका ५ का ३४ वर्षीया प्रभा श्रेष्ठ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राकेशलाई काठमाडौं महानगरपालिका ९ बाट शुक्रबार, दुधराजलाई ललितपुर महालक्ष्मी नगरपालिका ९ बाट र प्रभालाई ललितपुर महानगरपालिका १० बाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये राकेशले मौरिसस पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु ६ लाख ४५ हजार, दुधराजले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु ७ लाख ५० हजार र प्रभाले सिङ्गापुर पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु ७ लाख ८ हजार लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीको भनाइ छ । रासस

lcci
You might also like

Comments are closed.