मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत मङ्सिर मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत मङ्सिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति चार दशमलव ९५ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा सरकारले मुद्रास्फीतिलाई पाँच दशमलव पाँच प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।

गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि उच्च देखिएको छ । गत मङ्सिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति नौ दशमलव ९९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५ प्रतिशत र ४ दशमलव ९२ प्रतिशतले वृद्धि भएको थियो ।

राष्ट्र बैंकका अनुसार खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४३ दशमलव ०५ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमलव ७० प्रतिशत र घ्यू तथा तेलको ९ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव १८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको शून्य दशमलव ८३ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सात दशमलव ९८ प्रतिशत, मदिराजन्य पेयपदार्थको सात दशमलव ०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव ७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव २९ प्रतिशतले वृद्धि भएको छ ।

गत मङ्सिरमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क छ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ । प्रदेशगत रुपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३६, मधेश प्रदेशको ६ दशमलव ७७, बागमती प्रदेशको पाँच दशमलव ८४, गण्डकी प्रदेशको चार दशमलव ८१, लुम्बिनी प्रदेशको पाँच दशमलव ५३, कर्णाली प्रदेशको चार दशमलव १९ र सुदूरपश्चिम प्रदेशको छ दशमलव ६६ प्रतिशत रहेको छ ।

यस अवधिमा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ८२, तराईको छ दशमलव ३१, पहाडको ५ दशमलव ६५ र हिमालको छ दशमलव ५८ प्रतिशत रहेको छ । गत मङ्सिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति छ दशमलव ५२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति दुइ दशमलव ६३ प्रतिशत रहेको थियो । यो अवधिमा निर्माण सामग्रीको थोक मुद्रास्फीति चार दशमलव १४ प्रतिशतले घटेको छ ।रासस

lcci
You might also like

Comments are closed.