चिज र छुर्पीको निर्यात बढाउन सक्दा मुलुकले लाभ लिन सक्छः अध्यक्ष दाहाल

काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले चिज र छुर्पीको निर्यात बढाउन सक्दा मुलुकले लाभ लिन सक्ने बताएका छन् । कालिञ्चोक याक एण्ड फरेष्ट्री टुरिजम रिसर्च सेन्टर प्रालिको चौथो साधारणसभामा बोल्दै प्रमुख अतिथि दाहालले चिज र छुर्पीको निर्यात बढाउन सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

‘चिज र छुर्पी विभिन्न देशमा निर्यात भइरहेको छ । तर थोरै मात्र निर्यात भइरहेको छ । अब राज्यले पहल गरेर निर्यात बढाउनुपर्छ,’ उनले भने, ‘निर्यात बढाउँदा व्यापार घाटा कम गर्न योगदान पुग्छ भने नेपाली किसानले उत्पादन गरेको दूधले पनि बजार पाउँछ । व्यवसायीहरु पनि लाभान्वित हुन सक्छन् ।’ चिजसँग नेपाली डेरी सेक्टरको इतिहास जोडिएको चर्चा गर्दै अध्यक्ष दाहालले दुग्ध क्षेत्रको दिगो विकासका लागि चिज र छुर्पीको बजार राम्रो हुनुपर्ने बताए । प्रालिले उत्पादन गरेका डेरी जन्य प्रडक्टहरुको बजारीकरणमा एसोसिएसनले सक्दो साथ दिने उनले प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै प्रालिका निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य डिबी बस्नेतले पशुपालन, दुग्ध व्यवसाय तथा एग्रो टुरिजमका क्षेत्रमा कालिञ्चोक याक एण्ड फरेष्ट्री टुरिजम रिसर्च सेन्टर प्रालिको योगदान महत्वपूर्ण रहेको बताए ।

प्रालिका अध्यक्ष लालकुमार केसीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । प्रालिको बन्द सत्रसमेत सम्पन्न भएको छ । संस्थालाई थप बलियो बनाउने र सेवा सुविधा विस्तार गर्ने नीति प्रालिले लिएको छ। हाल २ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी रहेको प्रालिले पुँजी बृद्धि गरी ४ करोड ५० लाख रुपैयाँ चुक्ता पुजी पर्याउने लक्ष्य लिएको अध्यक्ष केसीले जानकारी दिए । कार्यक्रममा सन्तोषमणि नेपाल, बासुदेव ढकाल लगायतको उपस्थिति थियो । साधारणसभाले कम्पनीको आर्थिक प्रतिवेदन र वार्षिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।

You might also like

Comments are closed.

Secret Link