नाहालामा पशुसेवा केन्द्रको नयाँ भवन

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा रु एक करोडको लागतमा पशु सेवा केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका लगानीमा निर्माण सम्पन्न भएको भवनको सोमबार गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले शुभारम्भ गरे ।

विसं २०७७ भदौदेखि निर्माण सुरु भएर चैतमा निर्माण सम्पन्न भएको पशुसेवा केन्द्रको भवनको स्वामित्व गत साउन पहिलो साता गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो । रु ९८ लाख ६१ हजार ४४९ को लागतमा भवन निर्माण गरिएको हो । सोही भवनबाट गाउँपालिकाको पशु सेवा शाखा पनि सञ्चालन गरिएको छ । गाउँपालिका अध्यक्ष थापाले पशुपालनलाई व्यावसायिक बनाउन गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले परम्परागतरूपमा पशुपालन गर्दै आएका कृषकलाई व्यावसायिक बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताइन् । भवन निर्माणपछि गाउँपालिकाभित्रका पशुपालक कृषकले अब पशुको उपचार यहीबाटै गर्न पाउने वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए । यहाँ चिकित्सकसहितको दरबन्दी खटाउने तयारी गरिएको छ । साथै यहाँ प्रयोगशालासमेत सञ्चालन हुनेछ । प्रयोगशालाका लागि आवश्यक उपकरण नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले सहयोग गर्ने भएको छ ।

दरबन्दी अभाव भएकाले पूर्ति गरेर उपकरणसहित सेवा प्रवाहको थालनी गरिने पशु सेवा शाखा प्रमुख मधु न्यौपानेले जानकारी दिए । पशुको उपचारका लागि दमौली जानुपर्ने बाध्यता अब हट्ने उनले बताए । सुरुआती चरणमा यहाँबाट गोबर परीक्षण, कृत्रिम गर्भाधानलगायतका सेवा दिने तयारी थालिएको छ ।

उक्त भवनमा ६ कोठाका साथै शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष रहेको छ । गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएकाले पशुको उपचारका लागि पशु सेवा केन्द्र अतिआवश्यक थियो । भवन निर्माणका लागि सोही ठाउँ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई दान गरेकी थिइन् । यो वडालाई बाख्रा पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित बाख्रा पकेट क्षेत्रका रूपमा अगाडि बढाइएको छ । यसका लागि वडाले बाख्रापालक कृषकलाई सहयोग गर्दै आइरहेको छ । “बाख्रा पकेट क्षेत्रका रूपमा विकास गर्न बाख्रापालक कृषकलाई प्राविधिक तालिम, घाँसको बिरुवा र खोर सुधारका लागि वडाले सहयोग गर्दै आएको छ”, न्यौपानेले भने “व्यावसायिकरूपमा बाख्रापालनतर्फ कृषक आकर्षित भइरहेका छन् ।”

गाउँपालिकाले पशुपालक कृषकलाई लक्ष्य गरी माउ बाख्रा वितरण, दूध उत्पादनमा प्रतिलिटर रु एक अनुदान, घाँस तथा औषधि वितरणलगायतका सहयोग गर्दै आएको छ । गाउँपालिकाले बन्दीपुर–५ मा सेवा केन्द्र स्थापना गरी पशुपालक कृषकलाई सेवा दिइरहेको छ ।

You might also like

Comments are closed.