भित्रियो ७ खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आवको अर्धवर्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार, विप्रेषण आप्रवाह (नेपाली मुद्रामा) ४ दशमलव १ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव २ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ४ दशमलव २ प्रतिशतले वृद्धि भई रू ८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१ दशमलव १ प्रतिशतले बढेको थियो ।

अर्थ मन्त्रालयका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ११ दशमलव ७ प्रतिशतले वृद्धि भई दुई लाख ३० हजार चार सय ३९ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा समीक्षा अवधिमा २१ दशमलव चार प्रतिशतले वृद्धि भई एक लाख ६२ हजार ६ सय २८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या छ प्रतिशतले घटेको थियो । यसरी वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अघिल्लो वर्षको ६ महिनाको तुलनामा १५ दशमलव ५ प्रतिशतले बढेको छ ।

यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति रू २ खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा थियो । गत पुस मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तको रू २० खर्ब ४१ अर्ब १० करोडको तुलनामा १३ दशमलव ५ प्रतिशतले वृद्धि भई रू २३ खर्ब १६ अर्ब ८४ करोड कायम भएको छ ।

उक्त सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड अमेरिकी डलर रहेकोमा १० दशमलव ३ प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा १६ अर्ब ८४ करोड अमेरिकी डलर कायम भएको छ । यो सञ्चिति १७ दशमलव तीन महिनाको वस्तु आयात र १४ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ । गत पुस मसान्तमा कायम कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २४ दशमलव ३ प्रतिशत रहेको छ ।

यस्तै, कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव आठ प्रतिशतले वृद्धि भई रू ९८ अर्ब ७९ करोड कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७ दशमलव २ प्रतिशतले कमी आएको थियो । यो अवधिमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थ्रेड, पार्टिकल बोर्ड, अलैंची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै, कुल वस्तु आयात सात दशमलव एक प्रतिशतले वृद्धि भई रू ८ खर्ब २२ अर्ब ३७ करोड कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वस्तु आयात ३ दशमलव १ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा कच्चा भटमास तेल, चामल, धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउ लगायतका वस्तुको आयात घटेको छ । रासस

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटामा चार दशमलव चार प्रतिशतले वृद्धि भई रू सात खर्ब २३ अर्ब ५८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा दुई दशमलव छ प्रतिशतले घटेको थियो ।

You might also like

Comments are closed.