मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताएका छन् ।

मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरुसँगको आजको छलफलमा उ नले नियम विपरीत सञ्चालन भइरहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने बताएका हुन् ।

यसैगरी निर्माणस्थलहरुमा सवारी साधन अवरोध हुन नदिन वैकल्पिक बाटो तथा ‘डाइभर्सन’को व्यवस्थापनलाई समेत प्राथमिकता दिइने उनले बताए । काठमाडौं र पूर्वी नेपाललाई जोड्ने बिपी राजमार्ग मर्मतलाई तीव्रता दिइएको जनाउँदै उनले वैकल्पिक सडकका रुपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरे ।

यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले यातायात सञ्चालनलाई व्यवस्थित बनाउन गृह मन्त्रालय, ट्राफिक प्रहरीलगायतका निकाय तथा संघीय सरकारसँग थप समन्वय गरिने बताए ।

दाउन्ने सडकमा भइरहेको निर्माणका कारण सवारी साधन तथा यात्रुलाई परेको समस्याप्रति मन्त्रालय गम्भीर रहेको भन्दै मालवाहक तथा यात्रुवाहक गाडीलाई उपयुक्त समय मिलाएर पास हुने व्यवस्था मिलाइएको बताए । सो खण्डको निर्माणलाई पहिलो प्राथमिकतामा राखिएकाले चाँडै यातायात सहज पारिने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतम, विभिन्न मजदुर सङ्गठनका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेल, उपमहानिर्देशक लगायतको उपस्थिति थियो ।
रासस

You might also like

Comments are closed.