म्याग्दी । प्रत्येक तीन/तीन वर्षमा आयोजना हुने ‘तोरन्ल गोल्डकप’ तारा (आर्चरी) खेल प्रतियोगितालाई निरन्तरता दिन रु ५१ लाखको अक्षयकोष स्थापना गरिएको छ ।
थकाली सेवा समितिले स्वदेश तथा विदेशमा रहेका थकाली समुदायबाट चन्दा सङ्कलन गरेर ‘तोरन्ल्ह गोल्डकप अक्षयकोष’ स्थापना गरेको हो । समितिका महासचिव रविन भट्टचनले थकाली समुदायको पहिचानसँग जोडिएको तारो खेल संरक्षण गर्न अक्षयकोष स्थापना गरिएको बताए ।
कोषमा निर्माण व्यवसायी महासङ्घका तत्कालीन अध्यक्ष स्व शरदकुमार गौचनका नाममा उनकी श्रीमति आशाले रु दश लाख सहयोग गरेकी हुन् । “दशौँ पटकसम्मको प्रतियोगिता चन्दा र सहयोग जुटाएर सञ्चालन गरेका थियौँ”, भट्टचनले भने, “तोरन्ल गोल्डकपलाई निरन्तरता दिन अक्षयकोष बनाएका छौं ।”
कोषको ब्याज आउन थालेपछि प्रतियोगिताको पुरस्कार र व्यवस्थापन खर्च जुटाउन सहज हुने समितिका अध्यक्ष सोमप्रसाद तुलाचनले बताए । प्रतियोगिताका विजेतालाई सुनको पाँच तोलाको मेडल, रनिङ शिल्ड, कप र रु एक लाख नगद पुरस्कार व्यवस्था गरेका छन् । दोस्रो, तेस्रो र सान्तवना हुनेले क्रमश रु ५० हजार, रु २५ हजार र रु दश हजार पुरस्कार पाउने समितिले जनाएको छ । सर्वोकृष्ट धनुषकर, विशिष्ट धनुषकर, अनुशासित टोली, ज्येष्ठ र कम उमेरका खेलाडीलाई समेत नगद तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
यसैबीच म्याग्दीको बेनीमा शुक्रबारदेखि ११ औँ केन्द्रीय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समितिको बेनी क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशका विभिन्न ठाउँका १८ समूहका १२६ खेलाडी सहभागी छन् । एक समूहमा एक वैकल्पिकसहित सात जनाले सहभागिता जनाउने यो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबै थकाली समुदायका खेलाडी हुन् । थकाली समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले उद्घाटन गरे ।
समितिले प्रत्येक तीन/तीन वर्षमा तोरन्ल गोल्डकप आयोजना गर्दै आएको छ । विसं २०७७ मा हुनुपर्ने प्रतियोगिता कोरोना भाइरसको जोखिमका कारण एक वर्षपछि धकेलिएको हो । सांसद तुलाचनले थकाली समुदायको भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा जोड दिए । थकाली सेवा समितिअन्तर्गतका क्षेत्रीय समितिले लोपोन्मुख भाषा, संस्कृति र संस्कारको संरक्षणका लागि गम्भीर भएर सोच्न तथा सरकारको ध्यानाकर्षण हुनुपर्ने उनले बताए ।
मुस्ताङ उद्गम थलो भएका थकाली समुदायले तारो खेललाई मौलिक परम्परा मान्छन् । परापूर्वकालमा खेतीबाली लगाइ र थन्काएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो । तारो खेलमा बाँसको धनुषवाण र जरबुटाको तीर हुन्छ । करिब डेढ सय मिटर वारिपारि राखिएका दुई फल्याकमा तीर हान्ने गरिन्छ ।
Comments are closed.