सुत्केरीले भत्ता पाएनन्

म्याग्दी । बेनी अस्पतालमा सुत्केरी भएका महिलाले चालु आर्थिक वर्ष २०७८÷७९ सुरु भएदेखिको भत्ता पाएका छैनन् ।

हिमाली र पहाडी जिल्लाका प्रसूतिगृहमा सुत्केरी हुनेलाई प्रोत्साहनबापत रु दुई हजार र चार पटक गर्भजाँच गरेबापत प्रतिपटक रु २०० का दरले एकमुष्ठ रु तीन हजार ८०० उपलब्ध गराउने सरकारको कार्यक्रम छ ।

अस्पतालले आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा सुत्केरीले सरकारले दिएको सुविधाबाट वञ्चित भएको गुनासो गरेका छन् । बेनी अस्पतालमा सुत्केरी भएकी रिना विकले सरकारले दिएको सुविधाबाट बन्चित भएको गुनासो गरिन् । आमा सुरक्षा कार्यक्रमबाट सङ्घीय सरकारले सुरक्षित प्रसूति सेवामार्फत मातृ शिशु मृत्युदर घटाउन र स्वास्थ्यमा सुधार ल्याउन प्रोत्साहन भत्ता तथा यातायात खर्च दिने व्यवस्था मिलाएको छ । बेनी अस्पतालमा गत साउनदेखि यही असोज २० गतेसम्म १२६ ले प्रसूति सेवा लिएका छन् ।

jutta mela

अस्पतालकी नर्सिङ इञ्चार्ज मनदेवी गौतमले सुत्केरीलाई रित्तै घर पठाउन बाध्य भएको बताइन् । “विगतमा सङ्घीय सरकारले पठाउने अनुदानबाट सोधभर्ना दिने गरी अस्पताल व्यवस्थापन समितिको बजेटले साउन १ गतेदेखि नै सुत्केरीलाई भत्ता दिने गरिएको थियो”, उनले भनिन्, “यसपालि लेखापालले नमानेपछि सुत्केरीलाई भत्ता दिन सकेका छैनौँ ।” गत आर्थिक वर्ष २०७७÷७८ मा १२३ शल्यक्रियामार्फत गरिनेसहित ७३४ ले बेनी अस्पतालबाट प्रसूति सेवा लिएका थिए ।

लेखापालको दरबन्दी नभएको सो अस्पतालमा कोष तथा लेखा नियन्त्रकको कार्यालयले पठाएका लेखापालले सहयोग नगरेपछि १२३ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । औषधि, उपकरण आपूर्तिकर्ता, विद्युत्, खानेपानी जस्ता अत्यावश्यक वस्तु आपूर्तिकर्ताको बिल भुक्तानी रोकिएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले कोष तथा लेखा कार्यालयले अन्य दुई कार्यालयसमेत हेर्ने गरी खटाइएका लेखापाल नारायण सुवेदीले अस्पताललाई प्राथमिकता नदिएको र ढिलासुस्ती गरेर समस्या भएको बताए ।

गण्डकी प्रदेश सरकारअन्तर्गतको उक्त अस्पतालमा लेखापालको दरबन्दी नहुँदा कोलेनिकाले खटाउने गरेको छ । आर्थिक वर्षको पहिलो महिना मन्त्रालय फुटेको र अख्तियारी आउन ढिलाइ भए पनि त्यसपछिको समयमा लेखापालले समय नदिएकाले तलबका साथै अन्य भुक्तानीका काम रोखिएको अस्पतालका प्रमुख चिकित्सक जीतेन्द्र कँडेलले बताए ।

लेखापाल सुवेदीले भने धेरै कार्यालयको जिम्मेवारी भएको र महालेखा परीक्षकको टोली लेखापरीक्षणमा आएकाले अस्पतालमा समय दिन समस्या भए पनि तलब भुक्तानीको प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए । तलब नपाएपछि बुधबार दिनभर ६४ शय्या बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प बनाएर आन्दोलनमा उत्रिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अस्पताल प्रशासन तथा व्यवस्थापन समितिले तलब उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि आजदेखि काममा फर्किएका छन् ।

ठूला चाडपर्व नजिकिएको र लामो समयको बिदा सुरु हुन लाग्दासमेत तलब नपाउँदा काम गर्ने वातावरण नभएको भन्दै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बुधबार दिनभर आकस्मिक तथा अस्पताल व्यवस्थापन समितिको कार्यालयमा धर्ना बसेपछि वार्ता भएको थियो ।

 

You might also like

Comments are closed.