समृद्धिका लागि कृषि : कृषि विकासमा निजी–सरकारी सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ वस्तुगत सदस्य नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ (नाल्बा) को आयोजनामा ‘समृद्धिका लागि कृषि’ विषयमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका कृषि विकास मन्त्री मधुसुदन पौडेलले प्रदेश सरकार कृषिको व्यावसायिक विकासका क्षेत्रमा काम गर्न प्रतिबद्ध रहेको र यसलाई बजेटमा समेत प्राथमिकता दिइएको बताए ।

पूर्व कृषि सचिव योगेन्द्र कार्कीले कृषिको व्यावसायिक विकासका लागि निजी क्षेत्रले पनि यसलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । उनले निजी क्षेत्र र सरकार मिलेर सहकार्यका साथ अघि बढेमा कृषि क्षेत्रको विकास सम्भव हुनेमा जोड दिए ।

नाल्बाको आयोजनामा भएको अन्तरक्रियाले कृषि क्षेत्रका सरोकारवालाहरू, सरकारी निकायका प्रतिनिधि र निजी व्यवसायीहरूलाई एकै ठाउँमा ल्याएको थियो । कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादब, कृषि विभागका डिजी प्रकाश सन्जेल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, बागमती प्रदेश नीति तथा योजना आयोगका पूर्व सदस्य डा. दिपेन्द्र श्रेष्ठ, सिटिक्यानका वरिष्ठ उपाध्यक्ष कृष्ण सापकोटा, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा निर्यात प्रवद्र्धन समितिका सभापति नरेशलाल श्रेष्ठ, खाद्यका लागि कृषि अभियानका संयोजक उद्दब अधिकारी लगायतले बोलेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । उद्यम केन्द्रका सदस्य तथा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले कार्यक्रममाथि प्रकाश पारेका थिए भने उद्यम केन्द्रका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र जोशीले ‘समृद्धिका लागि कृषि’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । नाल्बाका अध्यक्ष टिकाप्रसाद घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा महासचिव श्रीकृष्ण भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।

 

You might also like

Comments are closed.

Secret Link