गण्डकी । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले रविप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
अधिवेशनले संघको प्रथम उपाध्यक्षमा विकासप्रसाद कंडेल, द्वितीय उपाध्यक्षमा भुवानीप्रसाद अधिकारी, महासचिवमा श्यामप्रसाद लामिछाने, सचिवमा शोभाखर तिवारी, कोषाध्यक्षमा सुमन कुँवर र सह कोषाध्यक्षमा संगीता अधिकारी आचार्यलाई निर्वाचित गरेको छ । त्यस्तै समितिको सदस्यहरूमा आनन्दराज अधिकारी, रविन्द्र कुँवर, मित्रलाल अधिकारी, प्रतिक लामिछाने र सुरज सापकोटा रहेका छन् ।
अधिवेशनका लागि बरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाको संयोजकत्वमा संघका केन्द्रीय अध्यक्ष भीमबहादुर गोले तामाङ, मदन शर्मा, सोमबहादुर थापा, महेश सापकोटा, बोबरजंग गुरुङ, बाबुराम पाण्डे रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समितिका पदाधिकारी सहित निवर्तमान अध्यक्ष दुुर्गादत्त दाहाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, संघका केन्द्रीय महासचिव भरत तिमल्सिना लगायतले खादा तथा माला लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रविप्रसाद आचार्यले पर्यटक यातायात सेवालाई गुणस्तरीय बनाउँदै हरियो नम्बर प्लेटको महिमा र गरिमालाई कायम गराउने कुरामा आँफूहरू निरन्तर लाग्ने विश्वास व्यक्त गरे । यसैबीच राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख वासुदेव पौडेल सम्मानित भएका छन् ।
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ(एनटिभिए) गण्डकी प्रदेशको शुक्रबार साँझ पोखरामा सम्पन्न सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनका अवसरमा उनलाई पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याएको भन्दै नगद रु २५ हजार र सम्मानपत्रबाट सम्मान गरिएको हो ।
गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष दुुर्गादत्त दाहाल, केन्द्रीय अध्यक्ष भीमबहादुर गोले तामाङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले सो सम्मान प्रदान गरे । उक्त अवसरमा गण्डकी प्रदेशमा पहिलो पटक हरियो नम्बर प्लेटको पर्यटक यातायात भित्र्याउने हरिध्वज तुलाचन, उत्कृष्ट कर्मचारीद्वय श्रीप्रसाद खतिवडा र इन्द्र राना मगरलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य गुरुङले नेपालको पर्यटन क्षेत्रमा हरियो नम्बर प्लेट भएका पर्यटक यातायातले महत्वपूर्ण योगदान पु¥याएको बताए । हरियो नम्बर प्लेट भएका सवारी साधनले आफ्नो गुणस्तरीयतालाई सधैँ ध्यान दिन आग्रह गर्दै उहाँले पर्यटन क्षेत्रका विद्यमान समस्याको समाधान गर्न हातेमालो गर्ने बताए । सङ्घका गण्डकी प्रदेश अध्यक्ष दुर्गादत्त दाहालले पर्यटक यातायात सेवालाई व्यवस्थित एवम् प्रभावकारी बनाउन सङ्घ निरन्तर लागिरहेको बताए।
सङ्घका पूर्वअध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुरुङले विदेशी सवारी साधनलाई व्यवस्थित गर्नका लागि संघले पहल गरेपनि त्यसलाई गलत व्याख्या गर्ने गरिएको बताए । यहाँका पर्यटक सवारी साधनले तिर्ने गरेको राजस्व विदेशी सवारी साधनले पनि तिर्नुुपर्ने बताउँदै उहाँले त्यसको राम्रो नियमन हुनु जरुरी भएको बताए ।
कार्यक्रममा पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, सम्मानित व्यक्तित्व हरिध्वज तुलाचन, महासचिव भरत तिमिल्सना, सङ्घका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रविप्रसाद आचार्य, महासचिव विकास कंडेललगायतले पर्यटक यातायातले नेपालको पर्यटन क्षेत्रमा खेलिरहेको भूमिकालगायतका विषयमा चर्चा गरे । रासस






Comments are closed.