वीरगन्ज (पर्सा) । वीरगन्जनाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोडका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात रु छ अर्ब ४२ करोडले बढी हो ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा सवारीसाधन र पार्टपुर्जाको आयातमा वुद्धि भएको छ । भन्सार कार्यालयले चालु आवको सात महिनामा सवारीसाधन र पार्टपुर्जा आयातबाट मात्र १६ अर्ब ७३ करोड राजस्व संकलन गरेको छ । जबकि गत आवको सात महिनामा रु १७ अर्ब १५ करोडका सवारीसाधन र पार्टपुर्जा आयात हुँदा रु १३ अर्ब २६ करोड राजस्व संकलन भएको थियो ।
चालु आवको सात महिनामा रु एक अर्ब १६ करोड १३ लाखका ६ सय ९ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधन आयात हुँदा रु दुई अर्ब ८६ करोड राजस्व सङ्कलन भएको छ । जबकि गत आवको सात महिनामा भने रु एक अर्ब ५० करोडका सात सय ४८ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा रु तीन अर्ब ७३ करोड राजस्व संकलन भएको थियो ।
रासस





Comments are closed.