श्रीराम सुबेदी/पोखरा । सहकारी क्षेत्रलाई विभिन्न नियामक निकायले दिएका फरक फरक निर्देशनले सहकारी क्षेत्रलाई अन्यौलता थपिरहेको र यसैले सहकारी क्षेत्र झन् धारासायी बन्ने हो की भन्ने त्रास सिर्जना भएको एक अन्तक्र्रिया कार्यक्रमका सहभागीले बताएका छन्।
६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लि. कास्कीको संघसंस्था समन्वय उपसमितिले पोखरामा आयोजना गरेको स्थानीय सरकार, सरकारी निकाय, कास्की जिल्लाका सहकारी संघ संस्था र सरोकारवालाहरुसँगको अन्र्तक्रिया कार्यक्रममा उक्त धारणा राखेका हुन् ।
सहकारीका वास्तविक समस्याको पहिचान नगरी विद्यमान समयमा आएका विभिन्न निकायको कुन निर्देशनलाई आधार मान्ने, कसरी कार्यान्वयन गर्ने, निरन्तर आउने नीति, निर्देशनको नियमन, सरोकारवालासँग समन्वय अभावमा सहकारी सञ्चालनमा थप असहजता पैदा भएको सहभागीको गुनासो थियो। “सरकार पिच्छे फेरिरहने नीति, सहकारी नेतामुखी बन्ने र वास्तविक समस्या लुकाउने परिपाटीले समस्या आएको हो, अब सरोकारवालाको सहजीकरणमा नीति नियमनको पनुरावलोकन र पनुनिर्माण गरी सहकारी क्षेत्रको सशक्त पुनरुत्थान नै अबको उत्तम विकल्प हो”। सहकारी सम्बन्धि भएका अध्ययन र अनुसन्धानलाई कार्यान्वयनमा लैजादै यसको प्रबद्र्धन र विकासमा पनि राज्यका सबै निकाय र सरोकारवाला आफ्नो भूमिका अनुसार लाग्नु पर्नेमा सहभागीले जोड दिएका थिए ।
कार्यक्रमको विषयमा कार्यपत्र प्रस्तुत गर्दे नेफस्कुनका पूर्व सञ्चालक भिम गुरुङले सहकारी क्षेत्रलाई पुनः एकपटक पुनर्जागरण अभियान चलाउनु पर्ने, सहकारीलाई शुद्धिकरण गर्दै वित्तिय, उत्पादनमुलक र बजारीकरणमा सहकारीको क्षेत्र तोकिनु पर्ने, समुदायका लागी विश्वास, भरोसा र आशाको केन्द्र सहकारी बन्नु पर्ने बताएका थिए। उनले भने “सहकारी सेवामुखी हुनुपर्ने, सदस्यमुखी बन्नुपर्ने, यसका सिद्धान्त र मर्मलाई सरोकारवालाले सदस्यमाझ बुझाएर सहकारी सुदृढिकरण गर्नु नै अबको मुल बाटो हो ।”
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका प्रमुख भेषराज रिजालले सहकारी संस्था सञ्चालनका विषयमा कार्यपत्र प्रस्तुत गर्दै नियामक निकायले जारी गरेका निर्देशन कार्यान्वयनमा सहकारी संस्था जिम्मेवार हुनुपर्ने बताए। “सञ्चालक र कर्मचारीले पदको दुरुपयोग गरी सुशासन कायम नगर्दा देखिएका समस्याले असल र सबल सहकारीमा पनि आँच आएको छ ।” यसलाई राज्यले वर्गीकरण गरी सहकारी क्षेत्रको शुद्धिकरण गर्ने समय आएको र यस क्षेत्रमा देखिएका अन्यौलता हटाउन नियामक निकाय लागीपरेको भनाई रजिष्ट्रार रिजालले राखेका थिए।
६९ औँ राष्ट्रिय सहकारी दिवस मनाउन आयोजना गरिएको चार दिवसीय कार्यक्रम अन्तर्गत मंगलबार भएको अन्तक्र्रिया कार्यक्रम उपसमितिका संयोजक आनन्द सुबेदीको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन लेखनाथ तिवारी गरेका थिए ।
यसैगरी संघले चैत्र १७ देखि २० गतेसम्म विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम आयोजना गरी बुधबार खुल्ला रक्तदान कार्यक्रम पनि समापन गरेको छ । संघको प्राङ्गणमा भएको कार्यक्रममा कास्की जिल्लाका विभिन्न प्रारम्भिक सहकारी संस्था र विषयगत सहकारी संघहरुको सहभागीतामा १३८ यूनिट रगत संकलन गरेको छ । ६९ औँ राष्ट्रिय सहकारी दिवस, मुल समारोह समितिका संयोजक दिपक बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव दिपकप्रकाश आचार्यले गरेका थिए ।






Comments are closed.