इन्धन लगायतका निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि एवं अभावका कारण संकटमा निर्माण उद्योग

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा अत्यधिक प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामग्रीहरू सहित निर्माण कार्यमा व्यापक प्रयोग हुने बिटुमिन, सिमेण्ट, डण्डी जस्ता निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

महासंघका महासचिव शिवहरि घिमिरेले सोमवार विज्ञप्ति जारी गर्दै बजारमा निर्माण सामाग्रीहरूको अत्याधि मूल्यवृद्धिसँगै तिनको अभावले निर्माण उद्योग थप मर्कामा परेको उल्लेख गरेका छन् । ‘निर्माण कार्य तीव्र रुपमा हुने समयमै इन्धन सामग्रीहरू सहित निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेको मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको छ’ महासचिव घिमिरेद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ ।

यसैबीच महासंघको हालै सम्पन्न २६ औं साधारण सभा एवं १३औं अधिवेशनबाट निर्वाचित कार्य समितिको सोमबार सम्पन्न पहिलो बैठकले पूर्वाधार मैत्री हुने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न सरकार समक्ष अनुरोध गरेको छ । त्यस्तै प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुरुप मूल्य समायोजनको मार्ग निर्देशिका—२ तत्काल जारी गर्न नेपाल सरकारका सम्बन्धित् निकाय समक्ष बैठकले जोडदार माग गरेको छ ।

बैठकले महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलसँग भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री सुनिल लम्सालले गर्नु भएको छलफलमा शिघ्र निर्देशिका जारी गरेर मूल्यवृद्धिको समस्या सम्बोधन गरिने मन्त्री लम्सालको प्रतिबद्धता सकारात्मक रहेको ठहर गरेको छ । उक्त प्रतिबद्धता कार्र्यान्वयनका लागि मन्त्री लम्सालको पुनः ध्यानाकर्षण गराउँदै बैठकले सबै अवधिका ठेक्काको हकमा पनि मूल्य समायोजनको व्यवस्था गरिने मन्त्री लम्सालको प्रतिबद्धताको स्वागत गरेको छ ।

नविनियुक्त अध्यक्ष पाण्डे सहितका पदाधिकारी एवं कार्र्य समिति सदस्यहरूबाट पद तथा गोपनियताको सपथसँगै कार्यभार ग्रहण

महासंघको हालै सम्पन्न २६ औं साधारण सभा एवं १३औं अधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी एवं कार्य समिति सदस्यहरूले पद तथा गोपनियताको सपथ लिँदै कार्यभार ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता टंक प्रसाद दुलालले नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरूलाई सपथ गराउनु भएको हो ।

सपथपछिको सभालाई सम्बोधन गर्दै महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डेले आफू कर्ममा विश्वास गर्ने व्यक्ति भएको बताउँदै सबै तह र तप्काका निर्माण व्यवसायीहरूको वृद्धि विकासका लागि इमान्दार भएर काम गर्ने प्रतिबद्धता जनाए । विभागीय मन्त्रीसँगको छलफलमा आफूले निर्माण उद्योगमा विद्यमान समस्याहरूबारे जोडदार रुपमा ध्यानाकर्षण गराएको जानकारी गराउँदै अध्यक्ष पाण्डेले क्रमशः सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्नुभयो । सपथ ग्रहण समारोहमा निवर्तमान अध्यक्ष रवि सिंह, निवर्तमान वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) लगायतले निर्माण उद्योगको बृहत्तर हितका लागि आफूहरूको सदैव साथ सहयोग रहने धारणा व्यक्त गरे ।

 

(

 

You might also like

Comments are closed.