इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाइ कामपाद्वारा ४ करोड रुपैयाँ सहयोग

काठमाडौं ।काठमाडौं महानगरपालिकाले बालबालिकाको उपचारका लागि आधुनिक अस्पताल निर्माण गर्न काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाइ ४ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । चाइल्ड हेल्थलाई बालबालिकाको उपचारका लागि विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यका साथ विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माणका लागि कामपाले उक्त रकम सहयोग गर्ने भएको हो ।

बूढानीलकण्ठमा निर्माण गर्ने उक्त अस्पतालका लागि कामपाले रकम उपलब्ध गराउनेबारे आज प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट अध्यक्ष डाक्टर भगवान् कोइरालाले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा स्वास्थ्य सेवाका लागि सङ्घीय राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए ।

चाइल्ड हेल्थका अध्यक्ष डा कोइरालाले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र अलिक भिन्न तरिकाले बालबालिकाको सबै प्रकारका रोगको विशेषज्ञसहितको विशिष्टिकृत सेवा दिने उद्देश्यले अस्पताल निर्माणको अभियानमा जुटेको बताए । “बालबालिकाका प्रत्येक रोगका बालरोग विज्ञलाई एउटै छानमुनि राखेर काठमाडौंबाट सेवा दिने सामूहिक सपनालाई मूर्तरुप दिन हामीले यो अस्पताल निर्माणको अभियान अघि बढाएका हौँ”, डाक्टर कोइरालाले भने ।

काठमाडौंमा २०० श्ययाको अस्पताल निर्माणको तयारी भएको भन्दै कामपाले गरेको आर्थिक सहयोगले अभियानका लागि कोशेढुङ्गा बनेको डा कोइरालाको भनाइ छ । कारोना महामारीको दास्रो लहरको समयमा पनि कामपाले विभिन्न अस्पताललाई आवश्यकपर्ने उपकरण सहयोग गरेको थियो ।

You might also like

Comments are closed.