चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

दमौली (तनहुँ) । यहाँको भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक पर्यटनको केन्द्र बनाइने भएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले सो स्थानमा भानु साहित्य उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ बजेट विनियोजन गरी काम सुरु गरिएको जानकारी दिए ।
उद्यान निर्माणका लागि बोलपत्र आह्वान गरी मूल्याङ्कन भइरहेको र पहिलो चरणको काम यसै आर्थिक वर्षमा सम्पन्न गरिने उनले बताए । उनले भने, “आगामी वर्षका लागि पहुँच मार्ग निर्माण, भानुघर निर्माणका लागि बजेट प्रस्ताव गरिएको छ ।”
स्थानीय सन्देश आचार्यले उद्यानले यस क्षेत्रकै विकास हुने बताए । उनले भने, “भानु साहित्य उद्यानले यस क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक र साहित्यिक उन्नयनका लागि ठूलो टेवा पुग्नेछ ।”
चुँदीरम्घाको उत्तरतर्फ रम्घाडाँडामा भानु भवन निर्माण गरिनेछ । सो भवन परम्परागत गोलघर शैलीमा निर्माण गरिने र उक्त घरमा भानुभक्त आचार्यका जीवनीको सम्पूर्ण पक्षलाई चित्राङ्कन गरी उनको जीवनी र स्मृतिसँग सम्बन्धित चित्रकृति राख्ने प्रस्ताव गरिएको छ ।
उक्त भवनको माथि ५४ फिट अग्लो पलेँटी मारेर बसेको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गरिनेछ । गुरुयोजनाअनुसार दक्षिण दिशामा विविध भाषा, साहित्यिक स्रष्टाको मूर्ति निर्माण गरिनेछ । मूर्तिबाटिकाको तल भानु साहित्यिक ग्राम, भानुबस्ती, भानु प्रज्ञाभवन, वनस्पति उद्यान, वनभोजस्थल र पार्किङ क्षेत्र निर्माण गरिने योजना रहेको छ ।
उद्यान निर्माण सम्पन्न गर्न करिब एक अर्ब रुपैयाँ बजेट अनुमान गरिएको छ । भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले गुरुयोजना कार्यान्वयनका लागि ४३५ रोपनी जग्गा अधिग्रहण गरिएको जानकारी दिए । उनले भनेयो, “राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा भानुभक्तको आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भअनुसारको सबै किसिमको धाम बनाउने परिकल्पना साथ अगाडि बढेका छौँ ।”
उद्यानका लागि हालसम्म एक करोड ८० लाख ४१ हजार ५ सय रुपैयाँ खर्च भएको जनाइएको छ । रासस
You might also like

Comments are closed.