भरतपुर । चितवन उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशको अध्ययन अवलोकन भ्रमण टोलीलाई स्वागत गरेको छ । सोमबार एक कार्यक्रम गरी संघले भ्रमण टोलीलाई स्वागत गरेको हो । सोही कार्यक्रमममा बागमती क्षेत्रका उद्यमी व्यवसायीहरुका समस्या, वर्तमान बजेटले ल्याएका व्यवस्था, प्रभाव लगायत जिल्ला नगर उद्योग वाणिज्य संघहरुको क्षमता अभिवृद्धि का विषयमा छलफल तथा अन्तरक्रिया कार्य समेत सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठकोे नेतृत्वमा आएको कार्यसमितिको टोलीसँग उक्त कार्यक्रम आयोजना गरिएको हो । स्वागत एवम् छलफल कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले संघको परिचय, चितवन जिल्लाको आर्थिक एवम् सामाजिक अवस्था र चितवन उद्योग वाणिज्य संघको आगामी रणनितिका बारेमा बताएका थिए । कार्यक्रममा अध्यक्ष सुवेदीले बागमती प्रदेश संघीय राजधानी समेत भएको यद्यपी यस क्षेत्रका सम्भानाहरु अझै उजागर गर्न आवश्यक रहेको औंल्याउँदै निजी क्षेत्रको आवाजलाई सम्बन्धित निकायमा बुलन्द गर्नको लागि नेउवामहासंघ बागमति प्रदेशलाई अनुरोध गरे ।
कार्यक्रममा बोल्दै चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेउवामहासंघका कार्यकारिणी समिति सदस्य सुमनकुमार श्रेष्ठले बागमती प्रदेश उद्योग वाणिज्य संघ यस क्षेत्रको निजी क्षेत्रको छाता संगठन भएकोले निजी क्षेत्रको आवाजलाई सम्बन्धित निकाय सम्म पु¥याउन पुलको रुपमा काम गर्नु पर्ने बताउँदै यसको लागि महासंघको तर्फबाट आफुले पहल गर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठले वर्तमान कार्यसमितिले निजी क्षेत्रका समस्याहरुलाई नजिक बाट नियालेको बताउँदै प्रदेशका सबै उद्योग वाणिज्य संघका समस्या र मागलाई एकितृत गर्दै नेतृत्व गर्ने बताए । उनले प्रदेशका सबै जिल्ला नगर उवासंघहरुलाई एकतावद्ध गराउँदै लैजाने प्रतिवद्धता समेत ब्यक्त गरे । उनले नवनिर्वाचित कार्यसमतिमा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीलाई आमन्त्रीत सदस्यमा मनोनित गरेको घोषणा गरे ।
सोही अवसरमा अन्तरक्रिया कार्यक्रममा सहभागित हुँदै चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जिल्ला तथा नगर उवासंघको सचिवालयमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि , सचिवालय व्यवस्थापन लगायतका विषयका कार्यक्रम ल्याउनु पर्ने भन्दै संघका आम्दानिका स्रोतहरु समेत पहिचान गरी लागु अनुरोध गरे ।
स्वागत एवम् छलफल कार्यक्रममा बोल्दै चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले नवनिर्वाचत कार्यसमतिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले सवै जिल्ला तथा नगर उवासंघहरु उस्तै उद्देश्यले स्थापित र सञ्चालित भएको हुनाले सबै उद्यमी व्यवसायीको आवाजलाई बुलन्द गर्न नेउवामहासंघ बागमति प्रदेश सफल हुने आशा व्यक्त गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमति प्रदेशका उपाध्यक्ष कृष्ण कुमार गुप्ता, कोषाध्यक्ष रुद्र वहादुर खत्री लगायत पदाधिकारी एवम् कार्यसमति सदस्यहरु र चितवन उद्योग वाणिज्य संघका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीको धन्यवाद ज्ञापन एवम् संघका कार्यक्रम अधिकृत गणेश सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।







Comments are closed.