राष्ट्रिय धान दिवस तथा दही–चिउरा दिवसका अवसरमा परोपकार आश्रममा दुग्ध पदार्थ वितरण

पोखरा । ‘दही–चिउराको स्वाद, स्वदेशी उत्पादनको साथ, किसान उद्योगीको सम्मान, समृद्ध नेपालको अभियान’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस तथा दही–चिउरा दिवसको अवसरमा परोपकार आश्रम, पोखरा–१५ टुटुङ्गा, कास्कीमा दही–चिउरा प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ।

नेपाल डेरी एसोसिएसन र लायन्स क्लब अफ पोखरा अन्नपूर्ण भिलेजको सहकार्यमा आयोजित कार्यक्रमको अध्यक्षता नेपाल डेरी एसोसिएसनका केन्द्रीय सचिव तथा लायन्स क्लब अफ पोखरा अन्नपूर्ण भिलेजका अध्यक्ष शिवहरि आचार्यले गरेका थिए। कार्यक्रमको सञ्चालन क्लबका सचिव दिनेश वरालले गरेका थिए ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका सल्लाहकार ज्ञानेन्द्र बजगाईले शुभकामना मन्तव्य व्यक्त गर्दै दूध तथा दुग्ध पदार्थको पोषणीय महत्त्व र सेवामूलक कार्यक्रमको आवश्यकताबारे प्रकाश पारे । प्रमुख अतिथि लायन्स क्लब डिस्ट्रिक्ट 325M का क्याबिनेट सेक्रेटरी जगनाथ तिमिल्सिनाले लायन्स क्लबको सेवामूलक अभियान, सामाजिक उत्तरदायित्व तथा समुदायप्रतिको योगदानबारे मन्तव्य राखे ।
कार्यक्रमका अवसरमा परोपकार आश्रममा आश्रित ७० जना वटुकलाई दूध, दहीलगायतका दुग्ध पदार्थ वितरण गर्दै दही–चिउरा दिवस मनाइएको थियो।

त्यसैगरी, लायन्स क्लब डिस्ट्रिक्ट 325M  का चिफ एडभाइजर शिवराज आचार्यले अन्तर्राष्ट्रिय लायन्समा नेपाली लायन्स क्लबहरूको अवस्था तथा विभिन्न क्लबहरूले सञ्चालन गरिरहेका सेवामूलक गतिविधिबारे जानकारी गराए ।

अध्यक्ष शिवहरि आचार्यले नेपाल डेरी एसोसिएसनले सञ्चालन गरिरहेका स्वदेशी दुग्ध उत्पादन प्रवर्द्धन अभियानमा लायन्स क्लबसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा क्लस्टर चिफ दिलु तिवारी, क्लस्टर चिफ लक्ष्मी कोइराला, जोन चेयरपर्सन पुरुषोत्तम पौडेल, लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेअध्यक्ष भरत लामिछाने, नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशका सचिव निर्मल भण्डारी तथा केन्द्रीय सदस्य रामचन्द्र वराललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले राष्ट्रिय धान दिवस तथा दही–चिउरा दिवसको सन्देशलाई व्यवहारमा उतार्दै स्वदेशी कृषि उत्पादन, दुग्ध उपभोग प्रवर्द्धन, किसान–उद्योगीको सम्मान तथा सामाजिक सेवाको भावनालाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.