पुँजी बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक सबै पहल गर्नेछु : अध्यक्ष डा. भट्ट

काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टलाई शिष्टाचार भेट गरी हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

भेटका क्रममा अध्यक्ष डा. गोपाल प्रसाद भट्टले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले नेपाल सरकारको बजेट तथा नीति–कार्यक्रमले तय गरेका उद्देश्य र प्राथमिकताअनुरूप पुँजी बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक सबै पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले पुँजी बजारको दिगो विकासका लागि नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता तथा अन्य सरोकारवालाबीच आपसी समन्वय र सहकार्यलाई थप सुदृढ बनाइने उल्लेख गर्दै, बजारको पारदर्शिता, सुशासन, लगानीकर्ताको हित संरक्षण तथा आधुनिक प्रविधिको प्रयोगमार्फत नेपालको पुँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने दिशामा नेपाल धितोपत्र बोर्ड सक्रियतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गरे।

सो अवसरमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले नवनियुक्त अध्यक्ष डा. भट्टलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालको पुँजी बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि, बजार विस्तार तथा आवश्यक नीतिगत एवं संरचनागत सुधारका लागि एसोसिएसनले सदैव रचनात्मक सुझाव, सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेटवार्ताका क्रममा नेपाल सरकारको बजेटले पुँजी बजारको विकासका लागि तय गरेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा, प्रविधिमैत्री सेवा विस्तार तथा समग्र पुँजी बजारको संस्थागत सुदृढीकरणका विषयमा समेत सकारात्मक छलफल भएको थियो।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अध्यक्ष भट्टको नेतृत्वमा नेपाल धितोपत्र बोर्डले पुँजी बजारको विकास र विस्तारमा नयाँ ऊर्जा थप्ने, लगानीकर्ताको विश्वास अझ सुदृढ बनाउने तथा नेपालको आर्थिक विकासमा पुँजी बजारको योगदानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

 

You might also like

Comments are closed.