नेपाल वितरक संघको रजत जयन्तीको लोगो सार्वजनिक

काठमाडौं । नेपाल वितरक संघले आफ्नो २५औँ स्थापना दिवस तथा रजत जयन्ती समारोहको आधिकारिक लोगो सार्वजनिक गरेको छ। संघले मंगलबार लोगो सार्वजनिक गरेको हो ।

काठमाडौंको नयाँ बानेश्वरस्थित संघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष प्रेमहरी मैनालीसहित पदाधिकारीले संयुक्त रूपमा लोगो सार्वजनिक गरेका हुन्।

लोगो सार्वजनिक गर्दै अध्यक्ष प्रेमहरी मैनालीले आगामी साउन २२ गते संघले आफ्नो २५औँ स्थापना दिवस तथा रजत जयन्ती विशेष कार्यक्रमका साथ मनाउने जानकारी दिए। उनले भने, “हामीले साउन २२ गते संस्थाको २५औँ स्थापना दिवस तथा रजत जयन्ती मनाउँदैछौँ। त्यसैको तयारीस्वरूप आज रजत जयन्तीको लोगो सार्वजनिक गरेका हौँ। यस कार्यक्रमलाई भव्य र सफल बनाउन आवश्यक तयारी अघि बढाइएको छ।”

संघका अनुसार साउन २२ गते काठमाडौंमा आयोजना हुने रजत जयन्ती समारोहमा व्यवसायी, उद्योगी, सरकारी निकायका प्रतिनिधि तथा सरोकारवाला पक्षको सहभागिता रहनेछ। कार्यक्रममार्फत संघको २५ वर्षको यात्रा, वितरण व्यवसायमा पुर्‍याएको योगदान तथा आगामी कार्ययोजनाबारे पनि जानकारी गराइने जनाइएको छ।

लोगो सार्वजनिक भएसँगै संघले रजत जयन्ती समारोहको औपचारिक तयारी सुरु भएको जनाएको छ।

 

You might also like

Comments are closed.