भुईका समस्यासँग नजोडीएका मान्छेले नीति बनाउँदा समस्या समाधान नभएको हो : मन्त्री कार्की

श्रीराम सुबेदी/पोखरा । सहकारी क्षेत्रको नीति तथा कानुन निर्माणमा भूइमान्छे एवम् तल्लो वर्गको वास्तविक समस्या र व्यवहारिकतालाई समेट्न नसक्दा समाधान हुनुको साटो झन् गीजोलिएर समस्या थपिएको गण्डकी प्रदेश सरकार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्कीले बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २४ औँ स्थापना दिवसको अवसरमा बिहीबार पोखरामा आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय गोष्ठिमा प्रमुख अतिथि मन्त्री कार्कीले उक्त कुरा बताएका हुन्।

सहकारी क्षेत्रका व्यवहारिकता, नीति, नियम तथा प्रचलित कानुन र नियामक निकायका कामकारवाहीसँग तालमेल नमिल्दा अहिलेको समस्या देखिएको हो। हामी हाम्रो विधि अनुसार चल्न सकेनौँ, यहि मेसोमा केही टाठा बाठाले सहकारी क्षेत्र धुमिल बनाएका हुन्, समाधान नै नहुने खालका समस्याहरु छैनन्, ग्राउण्ड लेभलको समस्या खोजेर समाधानका उपाय निकाल्न सबै एक हुनुपर्नेमा मन्त्री कार्कीको जोड थियो ।

सहकारी क्षेत्रमा सकारात्मकता तिर भन्दा धेरै नकरात्मकता तिर समाजले बढी ठूलो समस्या देखेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री कार्कीले गण्डकी प्रदेश अन्तर्गतका झन्डै ८७३ सहकारी संस्था मध्ये १९ ओटा सहकारीमा समस्या देखिएको हो, हामी त्यसैमा मात्रै केन्द्रित हुँदा झन् समस्या देखिन सक्छ भन्दै सहकारीका सकारात्मक पक्षलाई अनुशरण गर्न आग्रह गरे ।

संघीय सरकारले हालै जारी गरेको सहकारी अध्यादेश कार्यान्वयन गर्नुको विकल्प नभएको र सोही अनुरुप तिनै तहका सरकारको तारतम्य मिलाएर कानुन निर्माण गरिने भन्दै कानुन निर्माणमा प्रदेश सरकार अन्तर्गतका सहकारीको विकासमा टेवा पुग्ने खालका सुझाव पेश गर्न समेत मन्त्री कार्कीको आग्रह थियो। विगतमा कृषि अनुदान लिएका किसान अहिले दुईतीन वर्षपछि ती किसानलाई फेलासम्म पार्न नसक्ने अवस्था आउनु दुःखदायी अवस्था छ। अब वास्तविक किसान टिकाउन उत्पादनमा आधारित अनुदान कार्यान्वयन गरेर कृषि पेशालाई सम्मानित एवम् मर्यादित पेशा नबनाई देशको दिगो विकास सम्भव नहुने समेत मन्त्री कार्कीको भनाई थियो ।

सहकारी रजिष्ट्रार कार्यालयका निमित्त रजिष्ट्रार नारायण प्रासद ढकालले सहकारीमा सुशासन कायान्वयनमा समस्या देखिएको औल्याउँदै अब सहकारीको गुणस्तर कायम गर्न स्पष्ट कानुनी व्यवस्था गरी एकिकृत सूचना प्रणाली, ऋण नतिर्ने ऋणीको हकमा थप कानुनको व्यवस्था, सहकारीप्रति नकरात्मकता फैलाउनेलाई कानुनी कारवाही, निक्षेप सुरक्षण प्रणालीलाई व्यस्थित बनाउने र सदस्यलाई प्रभावकारी सहकारी शिक्षाको व्यवस्था गरेर सहकारी अभियानलाई सुदृढीकरण गर्नुको विकल्प नभएको बताए । बैंकका पोखरा शाखा प्रमुख रुक्मत श्रेष्ठले बैंकको योजना र समिक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्याङ्जा जिल्ला बचत संघका अध्यक्ष लोकनाथ रेग्मी, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष दिपक बास्तोला, पोखरा महानगर सहकारी समितिका विज्ञ सदस्य दिपक प्रकाश आचार्य लगायतले बैंकलाई शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम बैंककी सञ्चालक कमला गिरीका अध्यक्षमा भएको थियो भने सञ्चालन कर्मचारी युमना शर्माले गरेकी थिइन् ।

 

You might also like

Comments are closed.