चितवनमा कृषि मन्त्री गीता चौधरीको छड्के अनुगमन, किसानसँग प्रत्यक्ष संवाद

चितवन । कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले शनिबार बिहानैदेखि चितवन जिल्लाका विभिन्न गाउँ तथा कृषि क्षेत्रको छड्के अनुगमन गरेकी छन् ।

बाली लगाउने मुख्य समयमा किसानले सहज रूपमा मल, बीउ, विषादी तथा अन्य कृषि सामग्री पाएका छन् वा छैनन्, बजारमा कालोबजारी, कृत्रिम अभाव तथा कृत्रिम मूल्यवृद्धि भए–नभएको अवस्थाबारे स्थलगत जानकारी लिन मन्त्री चौधरी फिल्डमा पुगेकी हुन् ।

मन्त्री चौधरीले चितवनका विभिन्न पालिका तथा खेतबारीमा पुगेर किसानसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरिन् ।

उनले धान रोपाइँलगायत मौसमी बालीको अवस्था, मल–बीउको उपलब्धता, उत्पादन लागत, सिँचाइ, बजार व्यवस्थापन तथा किसानले भोगिरहेका समस्याबारे जानकारी लिइन् । किसानका गुनासा र सुझाव सुनेपछि उहाँनले सम्बन्धित सरकारी निकायका अधिकारीसँग टेलिफोनमार्फत समन्वय गर्दै देखिएका समस्या तत्काल समाधान गर्न निर्देशनसमेत दिइन् ।

अनुगमनका क्रममा मन्त्री चौधरीले बजारमा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखिए वा त्यस्तो जानकारी प्राप्त भए तत्काल मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता तथा सर्वसाधारणलाई आग्रह गरिन् ।

उनले मन्त्रालयमा यस्ता उजुरी प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन गरी तत्काल अनुगमन गरिने र दोषी ठहरिएका व्यक्ति वा व्यवसायीमाथि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरिन् । किसानको हितविपरीत हुने कुनै पनि गतिविधिप्रति सरकार शून्य सहनशीलताको नीतिमा रहेको उनको भनाइ थियो।

मन्त्री चौधरीले कृषि उत्पादन बढाउन किसानलाई समयमै आवश्यक कृषि सामग्री उपलब्ध गराउने, कालोबजारी नियन्त्रण गर्ने र कृषि क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन् ।

You might also like

Comments are closed.