काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले पर्यटन क्षेत्रसँग सम्बन्धित दशकौं पुराना ऐन–कानुन संशोधन गरी नेपाललाई थप पर्यटनमैत्री गन्तव्यका रूपमा विकास गरिने बताएका छन् । होटल संघ नेपालले सोमबार होटल हिमालयमा आयोजना गरेको ‘आतिथ्य संवाद’ कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री पौडेलले पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि नीतिगत सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे ।
मन्त्री पौडेलले अन्तर्राष्ट्रिय विमानस्थलरूको स्तरोन्नति, हवाई सेवाको विस्तार तथा हिमाली सौन्दर्य अवलोकनसँग जोडिएका सडक सञ्जालको विकासमार्फत पर्यटकको बसाइ अवधि र गन्तव्य अनुभवलाई थप आकर्षक बनाइने जानकारी दिए । उनले नेपाल सरकार सुशासन, आर्थिक समृद्धि र निजी क्षेत्रमैत्री नीतितर्फ प्रतिबद्ध रहेको उल्लेख गर्दै पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गरे । उनले पर्यटन उद्योगको दिगो विकास सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्र सम्भव हुने उल्लेख गर्दै नीति निर्माणदेखि कार्यान्वयनसम्म निजी क्षेत्रको सुझाव र सहभागितालाई सरकारले निरन्तर महत्व दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा होटल संघ नेपालका कार्यवाहक अध्यक्ष प्रविणबहादुर पाण्डेले होटल उद्योग केवल व्यवसायिक क्षेत्र मात्र नभई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गरे । उनले होटल उद्योगले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, निजी लगानीको संरक्षण, होटल र पर्यटन व्यवसायको समग्र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए । कार्यवाहक अध्यक्ष पाण्डेले नेपालको पर्यटन उद्योग अहिले अवसर र चुनौतीको महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा तीव्र बन्दै गएको, पर्यटकको रुचि, सेवा प्रविधि तथा लगानीको स्वरूप तीव्र गतिमा परिवर्तन भइरहेको बताए । यस्तो अवस्थामा नेपालले नीतिगत स्थायित्व, लगानीमैत्री वातावरण, गुणस्तरीय पूर्वाधार, प्रभावकारी हवाई पहुँच, आधुनिक पर्यटन व्यवस्थापन तथा व्यवसायमैत्री कानुनी संरचनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
त्यसैगरी, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले विभागले पर्यटन प्रशासनलाई थप व्यवसायमैत्री बनाउने दिशामा काम गरिरहेको जानकारी दिँदै होटल उद्योगसँग सम्बन्धित प्रशासनिक प्रक्रियालाई सहज, छरितो र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्यलाई अझ सुदृढ बनाइने बताए ।
होटल संघ नेपालका महासचिव साजन शाक्यले वर्तमान सरकारले पर्यटन तथा होटल उद्योगको विकासमा आवश्यक सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै निजी क्षेत्र र सरकारबीचको सहकार्य अझ सशक्त हुँदै जाने अपेक्षा व्यक्त गरे। उनले होटल उद्योगका चुनौती समाधान गर्न नीतिगत सुधार, लगानी प्रोत्साहन र व्यवसायमैत्री वातावरण निर्माण अपरिहार्य रहेको धारणा राखे ।
संवाद कार्यक्रममा देशभरका चार र पाँचतारे होटलका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक तथा होटल संघ नेपालका प्रदेश अध्यक्षले सहभागिता जनाएका थिए । सहभागी व्यवसायीहरूले होटल सञ्चालनका क्रममा भोग्नुपरेका नीतिगत, कानुनी तथा व्यवहारिक समस्याहरू प्रस्तुत गर्दै पर्यटन उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, लगानी संरक्षण, विवाहक गन्तव्यका लागि भन्सार नाकामा सहजता, बिलासिता कर तथा शुल्क प्रणाली सुधार, हवाई पहुँच विस्तार, दक्ष जनशक्ति विकास, पूर्वाधार सुधार, अन्तर्राष्ट्रिय प्रवद्र्धन तथा निजी क्षेत्रसँगको प्रभावकारी सहकार्यका विषयमा आफ्ना सुझाव राखेका थिए ।
कार्यक्रममा होटल उद्योगसँग सम्बन्धित विभिन्न नीतिगत सुधार, पर्यटन प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्योगका साझा चुनौती समाधानका विषयमा सरकार र निजी क्षेत्रबीच खुला तथा रचनात्मक छलफल भएको थियो । सहभागीहरूले यस्ता नियमित संवादले पर्यटन क्षेत्रको नीति निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै उद्योगको दिगो विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
होटल संघ नेपालले सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद, सहकार्य र साझेदारीमार्फत नेपालको पर्यटन तथा आतिथ्य उद्योगलाई थप सुदृढ, प्रतिस्पर्धी र दिगो बनाउने आफ्नो प्रतिबद्धता रहने बताएको छ ।



Comments are closed.