सामाजिक सद्भावका लागि नेपाल निर्माण व्यवसायी महासंघको अपील 

काठमाडौं ।  सुनसरी, सिरहा, धनुषा, सप्तरी लगायतका जिल्लाहरूमा पछिल्ला दिनमा भइरहेका झडपका घटनामा भएको मानवीय एवं भौतिक क्षतिबाट अत्यन्त मर्माहत एवं स्तब्ध भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
 महासंघका अध्यक्ष निकोलस पाण्डेले शुक्रवार एक अपील जारी गर्दै झडपका उक्त घटनामा परी दिवंगत भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते सबैको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । ‘हामी नेपालीहरू परापूर्वकालदेखि नै अनेकतामा एकताबीच आपसी सद्भाव र सहकार्यमा हुँर्कदै आएकोमा कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप, हिंसा र मुठभेडका घटनाले हाम्रो मौलिक विशेषता र गौरवशाली परम्परामा गम्भीर आघात पुग्दछ’ विज्ञप्तिमा भनिएको छ । महासंघले आफू मातहतका सातै प्रदेश तथा सतहत्तरै जिल्लाहरूमा रहेका आफ्ना तमाम सदस्यहरूलाई सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्नका लागि आ—आफ्नो तर्फबाट रचनात्मक भूमिका निर्वाह गर्न अनुरोध गरेको छ ।
सामाजिक सद्भाव सहितको बृहत्तर एकता र स्थायी शान्तिबाट नै मुलुकको आर्थिक समृद्धि सम्भव भएकाले त्यसतर्फ तत्काल पहल गर्न पनि महासंघले नेपाल सरकार, राजनीतिक दलहरू, स्थानीय समुदाय, नागरिक समाज, विभिन्न पेशा र क्षेत्रका बुद्धिजीवी र सञ्चार जगत समक्ष अनुरोध गरेको छ । वार्ता र संवाद मार्फत नै कुनै पनि किसिमको समस्याको स्थायी समाधान सम्भव भएकाले महासंघ अध्यक्ष पाण्डेले सम्बन्धित सबै पक्षहरूलाई तत्काल वार्तामा बसी समस्याको निकास खोज्न अनुरोध गरेका छन् ।
You might also like

Comments are closed.