खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

नेपालगञ्ज (बाँके) । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि बिग्रिएर थन्किएका ४४ वटा विभिन्न उपकरणको मर्मत गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकले एक साताको अवधिमा ती उपकरण मर्मत गरेको अस्पताल प्रशासनले जनाएको छ ।
क्यान्सर अस्पतालका निर्देशक डा नीरज भट्टराईले मर्मत भएका उपकरण प्रयोगमा ल्याइएको जानकारी दिँदै केही उपकरण मर्मतका लागि सुझाव दिएकाले प्राविधिक टोलीले लिएर गएका बताए । “मर्मत भएका सबै उपकरण प्रयोगमा आएपछि बिरामीलाई सहज वातावरण निर्माण भएको छ”, उनले भने ।
सो अस्पतालमा लामो समयदेखि बिग्रिएर थन्किएका आवश्यक उपकरणको मर्मत सम्भारका लागि साउनको पहिलो साता राष्ट्रिय आविष्कार केन्द्र र क्यान्सर अस्पतालबीच सम्झौता भएको थियो । अस्पतालका निर्देशक डा भट्टराईले सम्झौता भए लगत्तै आविष्कार केन्द्रका बायोमेडिकल टोली प्रमुख एवं इञ्जिनियर उमेश किरातीको नेतृत्वमा रहेका पाँच जना प्राविधिकको टोलीले बिग्रिएका उपकरणको मर्मत सम्भार गरेको जानकारी दिए ।
मर्मत सम्भार गरिएको उपकरणमा क्यान्सरसम्बन्धी रोग परीक्षण तथा उपचार गर्ने विभिन्न उपकरण रहेका छन् । ती उपकरणहरू मर्मत सम्भार भएर पुनःसञ्चालनमा आएपछि बिरामीको उपचार सहज र छिटो हुन थालेको उनको भनाइ छ ।
आविष्कार केन्द्रका इञ्जिनियर किरातले अस्पतालसँग केन्द्रको सम्झौता बमोजिम लामो समयदेखि बिग्रिएका विभिन्न उपकरणको आफूहरूले मर्मत सम्भार गरेको बताए । उनका अनुसार मर्मत सम्भार गरिएका उपकरणमा एक्सरे मेसिन दुई वटा, अल्ट्रासाउन्ड मेसिन एउटा, भेन्टिलेटर तीन वटा, एनेस्थेसिया मेसिन एउटा, केमो क्याबिनेट एउटा, माइक्रोस्कोप, ल्याप्रोस्कोपी टावरलगायत छन् ।
ल्याप्रोस्कोपी टावरको केही सामान यहाँ उपलब्ध नभएर बाहिरबाट मगाउनुपर्ने देखिएको पनि इञ्जिनियर किरातले बताए । सोही कारणले अस्पतालमा बिग्रिएको मेमोग्राफको पनि मर्मत सम्भारमा समस्या परेको उहाँको भनाइ छ । क्यान्सर अस्पतालमा रहेको अन्य दुई उपकरण मर्मतका लागि काठमाडौं लगिएको छ ।
खजुराका स्थानीय अगुवा शिवराज श्रेष्ठले लामो समयदेखि बिग्रिएर थन्किएका अस्पतालका आवश्यक उपकरणको मर्मत सम्भार भएपछि अब बिरामीलाई साना परीक्षणका लागि पनि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई अझै बलियो र सदृढ बनाउँदै देशभरि बिग्रिएका विभिन्न क्षेत्रका उपकरण मर्मत र नयाँ निर्माणमा सक्रिय बनाउनुपर्ने माग गरे । गतवर्ष भेरी अस्पतालमा १२ वटा विभिन्न उपकरण पनि मर्मत गरिएको थियो । रासस
You might also like

Comments are closed.