हेटौँडा । बागमती प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा हेटौँडामा ‘स्वरोजगार व्यवसाय कर्जा ब्याज अनुदान कार्यविधि’ को सन्दर्भमा सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय उद्यमी र व्यवसायीलाई लक्षित गरी ल्याउन लागिएको यस कार्यविधिलाई अझ व्यवहारिक र प्रभावकारी बनाउन नीजि क्षेत्र र बैंकिङ क्षेत्रका प्रतिनिधिहरूसँग गहन छलफल गरिएको हो।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा महासंघका प्रतिनिधि, जिल्ला तथा नगर उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न वस्तुगत संघका प्रतिनिधि साथै बैंकिङ क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।
छलफल अत्यन्तै फलदायी र नतिजामुखी बनेको बताइएको छ । निजी क्षेत्रका प्रतिनिधिले अनुदान र कर्जा प्रवाहलाई पारदर्शी र सरल बनाउन विभिन्न सुझाव पेश गरेका थिए। सहभागीलाई सम्बोधन गर्दै मन्त्री तामाङले निजी क्षेत्रबाट प्राप्त व्यवहारिक र महत्त्वपूर्ण सुझावलाई कार्यविधिमा अधिकतम समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे । FNCCI बागमती प्रदेशले प्रदेश सरकारको यो प्रयासको स्वागत गर्दै यस्ता नीतिगत सहकार्यले निजी क्षेत्रको प्रवर्द्धनका साथै समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।





Comments are closed.