२३ औं सिफ्ट तीज फेस्टिभल तथा श्रीजनशिल उद्यमी मेला–२०८३ हुने

काठमाडौं । महिला उद्यमशीलता, घरेलु तथा हस्तकलाका सामग्रीको प्रवद्र्धन तथा तीज संस्कृतिको संरक्षण गर्ने उद्देश्यले २३ औं सिफ्ट तीज फेस्टिभल तथा श्रीजनशिल उद्यमी मेला–२०८३ आयोजना हुने भएको छ ।

काठमाडौंको बालुवाटार स्थित आम्रपाली ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्दै आयोजक महिला श्रीजनशिल केन्द्र र राइजिङ नेपाल प्रालिले मेलाका बारेमा जानकारी दिएका हुन् ।आयोजकका अनुसार काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भदौ ५ गते बिहान ११ बजे मेलाको उद्घाटन गर्ने बताइएको छ । भदौ ५ गते संचालन हुने मेला भदौ ७ गतेसम्म काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा सञ्चालन हुनेछ ।

मेलामा ८० भन्दा बढी स्टल रहने र तीमध्ये पाँचभन्दा बढी स्टल असहाय, अपाङ्गता भएका, अशक्त तथा ग्रामीण क्षेत्रका पिछडिएका महिलालाई निस्शुल्क उपलब्ध गराइने सो पत्रकार सम्मेलनमा जनाकारी दिइयो । मेलामा महिला उद्यमी तथा घरेलु व्यवसायबाट उत्पादित वस्तु तथा सेवाको प्रदर्शनीसँगै तीज विशेष कार्यक्रम तथा विभिन्न गतिविधि सञ्चालन हुनेछन् ।

मेलामा महिला दिदीबहिनी तथा दाजुभाइ, नयाँ व्यापार तथा उद्यम सुरु गर्न चाहने व्यक्ति, अन्तर्राष्ट्रिय अवलोकनकर्ता, कलाकार तथा विद्यार्थी, सरकारी निकायका प्रतिनिधि, स्वदेशी तथा विदेशी पर्यटक, नेपाली सामग्री निर्यातकर्ता तथा मिडिया र पत्रकारलाई लक्षित गरिएको छ ।

मेलामा घरेलु तथा हस्तकलाका सामग्रीको प्रदर्शनी, महिला उद्यमशीलतासँग सम्बन्धित वस्तु तथा सेवा तथा तीज विशेष खानाका परिकार मुख्य आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ । त्यस्तै, अवलोकनकर्ताका लागि निस्शुल्क स्वास्थ्य शिविर र निस्शुल्क मेहेन्दी आर्टको समेत व्यवस्था गरिनेछ ।

आयोजकले अवलोकनकर्ताका लागि विशेष उपहारको समेत व्यवस्था गरेको जनाएको छ । मेलामा आउनेलाई हात खाली नजाने गरी विभिन्न उपहारको व्यवस्था गरिएको आयोजकको भनाइ छ ।

महिला उद्यमशीलतालाई प्रोत्साहन गर्दै पिछडिएका समुदायका महिलालाई उद्यममा जोड्ने उद्देश्यले पाँचभन्दा बढी स्टल असहाय, अशक्त, अपाङ्गता भएका तथा ग्रामीण क्षेत्रका पिछडिएका दिदीबहिनीलाई निस्शुल्क उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

आयोजकले मेलामार्फत महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको बजार विस्तारसँगै नयाँ उद्यम गर्न चाहने महिलालाई प्रेरित गर्ने लक्ष्य राखेको जनाएको छ। मेलाले नेपाली घरेलु तथा हस्तकलाका सामग्रीलाई स्वदेशी तथा विदेशी अवलोकनकर्तामाझ पुर्‍याउनसमेत सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

महिला श्रीजनशिल केन्द्रका अनुसार संस्थाद्वारा सञ्चालित सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, प्रशासनिकलगायत विभिन्न क्षेत्रमा आयोजित मेला, गोष्ठी, सेमिनार, तालिम तथा कार्यक्रम मार्फत हालसम्म ७०० भन्दा बढी महिला स्वरोजगार भएका छन् ।

आयोजकले मेला महिला उद्यमीका उत्पादनको बजार विस्तार गर्ने, नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने तथा नेपाली घरेलु तथा हस्तकलाका सामग्रीको प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसर बन्ने विश्वास व्यक्त गरेको छ ।

 

You might also like

Comments are closed.