चितवनमा आयकर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी ‘इलेक्ट्रोनिक फाईलीङ’ तालिम सम्पन्न

भरतपुर । चितवनको उद्योगी व्यवसायीको छाता संस्था चितवन उद्योग वाणिज्य संघको आयोजना तथा जिआइजेड–आरएसआरएसडीको प्राविधिक सहयोग एवम् विद्युत व्यवसायी संघ, चितवनको समन्वयमा व्यवसायीका लागि “आयकर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी इलेक्ट्रोनिक फाईलीङ विषयक एक दिने तालिम सम्पन्न भएको छ ।

कार्यक्रम उद्योगी–व्यवसायीलाई आयकर, मूल्य अभिवृद्धि करका सिद्धान्तहरू र विद्युतीय माध्यमबाट समयमै कर विवरण पेस गर्ने प्रक्रियाबारे विस्तृत जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले प्रविधिको द्रुत विकाससँगै निजी क्षेत्रले पनि आफ्ना परम्परागत कार्यशैली सुधार्नुपर्नेमा जोड दिए । उनले भने, “अहिलेको समयमा करको कानुनी दायरा पालना गर्नु मात्र पर्याप्त छैन, प्रविधिलाई आत्मसात गर्दै आफ्नो व्यवसायलाई स्मार्ट बनाउनु उत्तिकै आवश्यक छ । उनले कर सम्बन्धी ससाना त्रुटिले पनि व्यवसायीहरूले ठूलो जरिवाना र मानसिक सास्ती भोग्नुपर्ने हुदाँ यस्ता तालिमले सहज बनाउने धारणा व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि एवं आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले नेपालको कर प्रशासन पूर्ण रूपमा डिजिटल र प्रविधिमैत्री बन्दै गइरहेको स्पष्ट पार्दै करदाता र कर प्रशासनबीचको सम्बन्धलाई थप पारदर्शी र विश्वासिलो बनाउन ’इलेक्ट्रोनिक फाईलीङको ठूलो भूमिका रहेको बताए । उनले करका नीति नियमहरुका बारेमा जानकारी गराउदै धेरै जसो व्यवसायीहरू प्रविधिको सही ज्ञान नहुँदा वा समयमा विवरण पेस नगर्दा अनावश्यक जरिवाना र असुविधामा पर्ने गर्नुभएको बताए ।

सोही कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले आजको प्रतिस्पर्धात्मक बजारमा प्रत्येक व्यवसायीलाई कर नीति र डिजिटल प्रणालीबारे पूर्ण ज्ञान हुन अपरिहार्य रहेको बताए। उनले राज्यको कर नीति, नयाँ बजेटका व्यवस्थाहरू र ईफाईली जस्ता प्रविधिबारे व्यवसायीहरू सचेत हुनुपर्ने बताए । उनले संघले केवल उद्योगी–व्यवसायीको समस्या उठाउने मात्र होइन, व्यवसायीलाई समयसापेक्ष दक्ष र प्रविधिमैत्री बनाउन पनि निरन्तर भूमिका खेल्दै आएको बताउदै उनले संघले सधैं व्यवसायीको क्षमता अभिवृद्धि र हकहितका लागि कार्य गर्ने बताए ।

कार्यक्रममा विद्युत व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद चालिसेले विद्युत व्यवसायीलाई प्रविधिको पहुँचमा ल्याउन यो तालिम अत्यन्त फलदायी रहेको बताए । उनले अहिले धेरै जसो विद्युत् व्यवसायी साथीहरू प्रविधिसँग प्रत्यक्ष रूपमा जोडिन नसक्दा लेखा तथा करसम्बन्धी काममा अरूमाथि निर्भर हुनुपरेको अवस्थालाई यो तालिमले व्यवसायीलाई आत्मनिर्भर बनाउन र आफ्ना व्यावसायिक हिसाब–किताब पारदर्शी राख्न सहयोग हुँने अपेक्षा व्यक्त गरे । उनले आगामी दिनमा पनी विद्युत व्यवसायीहरुलाई चेतनामूलक तथा सीपमूलक कार्यक्रम सञ्चालनका लागि चितवन उद्योग वाणिज्य संघलाई आग्रह गरे ।

चितवन उद्योग वाणिज्य संघका राजस्व सल्लाहकार सिए विमान कार्कीले प्रशिक्षण गरेको तालिममा चितवनमा विद्युतीय समग्रीको कारोबार गर्ने १०० जना व्यवसायीको सहभागिता रहेको थियो ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण प्रधान, तालिम संयोजक विष्णु लम्साल, कार्यकारी निर्देशक निलबहादुर के.सी कार्यसमिति सदस्य नवराज सुवेदी, अशोक प्रसाद लामिछाने, श्रीकृष्ण लम्साल, सूचना प्रविधि अधिकृत बिनायक लम्साल, नेपाल विद्युतीय व्यवसायी महासंघका उपाध्यक्ष लेखनाथ सापकोटा, पूर्व अध्यक्ष तेजनारायण खरेल, विद्युत व्यवसायी संघ चितवनका संस्थापक अध्यक्ष बामदेव शर्मा घिमिरे लगायत पूर्वअध्यक्ष, पदाधिकारी कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न तालिमको औपचारिक सत्र संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.