काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल)ले नासा फाउन्डेसन नेपालको सहकार्यमा सरोकारवाला परामर्श कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रेज कन्सल्ट प्रा. लि.ले तयार गरेको “नेपालमा इभी अपनाउने अवस्था सम्बन्धी अध्ययन“ को प्रारम्भिक निष्कर्ष प्रस्तुत गरी सरोकारवाल तथा विशेषज्ञको परामर्श तथा प्रतिक्रिया सङ्कलन गरिएको थियो । कार्यक्रमको आयोजक सुबास भट्टराई (प्रोजेक्ट कोअर्डिनेटर) थिए भने अध्यक्षता नासा नेपालका अध्यक्ष दशरथ रिसालले गरेका थिए । कार्यक्रममा नासा नेपाल, नासा फाउन्डेसन नेपाल, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, पूर्वाधार बिकास मन्त्रालय, इभी डिलर, मेकानिक, अनुसन्धानकर्ता, इसिमोड, काठमाडौं विश्वविद्यालय, सञ्चारमाध्यम र सांसदसहित ३० भन्दा बढी सहभागी थिए ।
अध्ययनको निष्कर्ष रेज कन्सल्टका प्रबिन सिंहले प्रस्तुत गरेका थिए । देशभरका ७ वटै प्रदेशका २,०६७ जना उत्तरदाताको सर्वेक्षणमा आधारित अध्ययनका अनुसार ७८% इभी प्रयोगकर्ता सन्तुष्ट पाइएका छन् भने ५१.९% ले आगामी सवारी साधन इभी नै किन्ने बताएका छन् । तर उच्च मूल्य (४८%), चार्जिङ पूर्वाधारको अभाव (४३.६%), ब्याट्री सम्बन्धी चिन्ता (४२.५%), र सुरक्षा नियमनप्रतिको कमजोर विश्वास (५४.१%) प्रमुख अवरोधका रूपमा देखिएका छन् । अध्ययनले वित्तीय प्रोत्साहन, चार्जिङ पूर्वाधार, सुरक्षा मापदण्ड, जनचेतना, सार्वजनिक यातायातको विद्युतीयकरण, र संस्थागत समन्वय गरी छ नीतिगत आधारस्तम्भको प्रस्ताव गरेको छ, जुन प्रतिक्रियाका आधारमा थप परिमार्जन हुन सक्ने आयोजकहरूले जनाए ।
सहभागीले अध्ययन परिष्कृत बनाउन सुझाव दिए । सांसद गीता गुरुङले ब्याट्री विसर्जन र पुनर्बिक्री मूल्यमा ध्यान दिनुपर्ने बताइन् । सोटेन हरेराम श्रेष्ठले सरकारी सवारी साधन शतप्रतिशत इभीमा रूपान्तरण र वायु गुणस्तर तथ्याङ्कको उल्लेख गर्न सुझाव दिए । इसिमोडका सागर अधिकारीले भारी सवारी साधनको रेट्रोफिटिङ सम्बोधन गर्नुपर्ने बताए । केन्द्रबिन्दु मिडियाका बिदुर खतिवडाले रोजगारी सम्भावना र नर्वेको उदाहरण समावेश गर्न सुझाव दिए । इभी विज्ञ प्रेम लामाले बीमा र दाबी तथ्याङ्क समावेश गर्न आवस्यक रहेको बताए । पुष्पराज पन्तले सुरक्षा मापदण्ड र स्थानीय तहको नीतिगत सिफारिस थप्न आग्रह गर्दै गुगल फारम साझा गरेका थिए; विज्ञान मन्त्रालयका रामचन्द्र थापाले नमूना आकार बढाउन र लन्डनको न्यून उत्सर्जन मोडेल उल्लेख गर्नुपर्ने बताए । अटोमेकानिक्स संघका पूर्वअध्यक्ष ठाकुरप्रसाद न्यौपानेले मेकानिक तालिम र स्पेयर पार्टको अभावमा जोड दिन सुझाव दिए । गोविन्द भट्टराईले निजी क्षेत्र नियमन, सिटीयभिटी तालिम, र ब्याट्री विसर्जन समावेश गर्न भन्नुभयो; र पुवाधार मन्त्रालयका जगतमान श्रेष्ठले सुरक्षा मापदण्ड, लाइसेन्स सुधार, र दुरुपयोग नियन्त्रण समावेश गर्न सुझाव दिए ।
नासा नेपालले यो अध्ययन नेपाल इभीको लागी केवल सुरुवात रहेको र विशेषज्ञ प्रतिक्रियालाई अध्ययनको निष्कर्ष र सिफारिस समावेश गरि अझ प्रभावकारी बनाउने जनाएको छ ।
एफआईए सेफ एण्ड सस्टेनेबल मोबिलिटी ग्रान्टको सहयोगमा भइरहेको “ईभिजन नेपालः ड्राइभिङ द फ्युचर” कार्यक्रम अन्तर्गत गरिएको यस अध्ययनका सहित ४ वटा क्षेत्रीय पोलिसि डाइलग, १ राष्ट्रिय कार्यशाला तथा ९० जना पत्रकारलाई तालिम गरिने कार्यक्रम रहेको छ र प्रत्यक्ष कार्यक्रम, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत करिब १ लाख मानिससम्म जनचेतना तथा प्रचारप्रसार पु¥याउने लक्ष्य रहेको बताइएको छ ।



Comments are closed.