पोखरा । फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुन लागेको अवसरलाई थप प्रभावकारी बनाउन फ्लाई दुबई (flydubai) र पोखरा महानगरपालिकाबीच पोखरा–दुबई हवाई सेवाको प्रवर्द्धनका लागि सहकार्यसम्बन्धी समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको हो।
समझदारीअनुसार पोखरा महानगरपालिकाले उपलब्ध सार्वजनिक तथा प्रचार–प्रसारका स्थानहरूमा १५ दिनसम्म निःशुल्क प्रचार स्थान उपलब्ध गराउने तथा महानगरपालिकाका आधिकारिक डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत पोखरा–दुबई उडानको प्रवर्द्धनमा सहयोग गर्नेछ। फ्लाई दुबईले प्रचार सामग्रीको डिजाइन, उत्पादन, छपाइ, ढुवानी, जडान तथा हटाउने जिम्मेवारी लिनेछ। २३ सेप्टेम्बर २०२६ देखि सुरु हुने पोखरा–दुबई नियमित हवाई सेवाले पोखरालाई विश्वका विभिन्न गन्तव्यसँग थप सहज रूपमा जोड्नेछ।
यसबाट पोखराको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय आवागमन, व्यापार तथा आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने विश्वास रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्दै अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग जोड्ने हाम्रो निरन्तर प्रयासमा यो सहकार्य महत्त्वपूर्ण उपलब्धि हुने उनको भनाइ छ । ‘अब हाम्रो साझा प्रयास पोखरा–दुबई उडानलाई सफल बनाउने र यसमार्फत पोखरालाई विश्वका थप गन्तव्यसँग जोड्ने दिशामा केन्द्रित हुनेछ, ‘आचार्यले भने ।




Comments are closed.