काठमाडौं । होटल संघ नेपालले रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिक तथा पर्यटकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । बाढीबाट घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सम्पर्कमा नआएका स्वदेशी तथा विदेशी तथा विदेशी नागरिक÷पर्यटकको भइरहेको उद्धार छिट्टै टुंगिने आशा पनि व्यक्त गरेको छ ।
विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले होटल संघ नेपालले आफ्ना सम्पूर्ण सदस्य होटललाई आवश्यकताअनुसार आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउन गरेको आग्रह बमोजिम सकारात्मक प्रतिक्रिया जनाउँदै अधिकांश सदस्य होटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराएका छन् भने आगामी दिनहरूमा समेत थप सदस्य होटलबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको संघले जनाएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्नेमध्ये होटल किङ्सबेरी १ करोड ११ लाख, चन्द्रागिरी हिल्स ५२ लाख ५१ हजार, होटल मेची क्राउन २६ लाख, एभरेष्ट होटल २० लाख, रामडा इन्क्योर ठमेल ११ लाख ११ हजार १ सय ११, अर्किड ग्लोरी लिमिटेडअन्तर्गतका होटल क्राउन इम्पेरियल र माउन्ट ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पा ५ लाख ११ हजार १ सय ११, ड्रिम ग्रुप बुटवल ५ लाख ३ हजार, होटल सारथी १ लाख ६५ हजार, होटल एम्बासडर १ लाख, क्लब हिमालय १ लाख, होटल संघ नेपाल सिन्धुली १ लाख ४ हजार २ सय ८५, धुलिखेल माउन्टेन रिसोर्ट, होटल नान्स, होटल मेलुङ्त्येलगायतबाट जम्मा भइसकेको जानकारी प्राप्त भइसकेको छ भने चन्द्रागिरी हिल्स, क्राउन इम्पेरियल र माउन्ट ग्लोरी रिसोर्ट एण्ड स्पा लगायत अन्य होटलमा कार्यरत कर्मचारीको तर्फबाट पनि राहत कोषमा रकम जम्मा गरिएको जानकारी आएको संघले जनाएको छ । साथै, होटल संघ नेपालले संचालन गरेको राहत कोषमा समेत एयरपोर्ट होटल, ग्राण्ड होटल, होटल स्वागतम, होटल रेनफरेष्ट लगायतबाट प्राप्त भएका रकम संकलन गरी राहत कोषमार्फत सहयोग गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कतिपय सदस्य होटलहरूले खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य अत्यावश्यक राहत सामग्रीहरू प्रत्यक्ष रूपमा प्रभावित क्षेत्र तथा सम्बन्धित निकायमार्फत उपलब्ध गराइरहेको संघले जनाएको छ ।
भोटेकोशी बाढीबाट प्रभावित भई बेपत्ता भएका नागरिकहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन नेपालभित्र रहेका आफन्तजनका साथै विदेशी पर्यटकलाई समेत सहजता प्रदान गर्ने उद्देश्यले होटल संघ नेपालले सम्बन्धित प्रदेश तथा जिल्ला संघहरूसँग समन्वय गरी आवश्यक बसोबास तथा खानपानको निःशुल्क व्यवस्था मिलाएको छ ।
नेपाल पर्यटन बोर्डमा स्थापना गरिएको बेपत्ता पर्यटक परिवारका आफन्तहरूको आवश्यक सहयोग र व्यवस्थापनका लागि संघले कार्य गर्दै आएको जनाएको छ । विपद्का कारण आफ्नो परिवारका सदस्य तथा आफन्तसँग सम्पर्कविहीन भएका स्वदेशी तथा विदेशी नागरिकलाई आवश्यक सूचना, समन्वय र मानवीय सहयोग उपलब्ध गराउन होटल संघ नेपाल सक्रिय रहेको जनाइएको छ ।
भोटेकोशी बाढीमा ज्यान गुमाउनु भएका स्वदेशी तथा विदेशी नागरिक÷पर्यटकहरूको आत्माको चिरशान्तिको कामना गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्न होटल संघ नेपालले प्रार्थना सभा आयोजना गर्ने जनाएको छ ।



Comments are closed.