पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा।लि।ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि १० लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले उक्त रकम सहयोग गरेको जनाएको छ ।
देशमा विपत्ति पर्दा सहयोगका लागि राज्यसँगै निजी क्षेत्र पनि अघि बढ्नुपर्ने मान्यतालाई आत्मसात् गर्दै कम्पनीले आफ्नो तहबाट उक्त सहयोग गरिएको अध्यक्ष ऐनकुमार साईले बताए ।
भोटेकोशी बाढीजस्ता प्राकृतिक विपत्तिले देशको सडक पूर्वाधार अझै जोखिमपूर्ण अवस्थामा रहेको विषयलाई पुनः सतहमा ल्याएको अध्यक्ष शाहीको भनाइ छ । राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने पृथ्वी राजमार्गसहित प्रमुख राजमार्गहरूमा कुनै एक स्थानमा समस्या आउँदा लामो दूरीको यातायात तथा आपूर्ति प्रणाली नै प्रभावित हुने अवस्था रहेको उनले बताए ।
नेपालको भौगोलिक अवस्थाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम उच्च रहेका कारण एउटै राजमार्गमा अत्यधिक निर्भर रहनुभन्दा वैकल्पिक सडक, सुरक्षित सडक संरचना र विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा सरकारले लगानी बढाउनुपर्नेमा साईले जोड दिए ।




Comments are closed.