काठमाडौं । रसुवा जिल्लाका बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि नेपाल आयुर्वेदिक औषधि उत्पादक संघले नेपाल उद्योग वाणिज्य महासंघमार्फत ४ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
सहयोग रकम बराबरको चेक नेपाल आयुर्वेदिक उत्पादक संघका अध्यक्ष बुद्धि मान शाक्यले नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले रसुवा बाढी प्रभावितका लागि प्राप्त सहयोगले राहत तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने बताउँदै सहयोगका लागि नेपाल आयुर्वेदिक उत्पादक संघप्रति आभार व्यक्त गरे ।
चेक हस्तान्तरण गर्दै संघका अध्यक्ष शाक्यले प्राकृतिक विपत प्रभावित नागरिक तथा व्यवसायीको राहतका लागि निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग गर्नुपर्ने बताए ।
महासंघले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रका उद्योगी–व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनःस्थापनामा सहयोग पुर्याउन विभिन्न संघसंस्था तथा निजी क्षेत्रसँग सहकार्य गर्दै आएको छ ।




Comments are closed.