लेखनाथमा ‘छैठौं बेगनास फिस फेस्टिभल तथा देउसी भैलो’ हुने

पोखरा । पोखराको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ लेखनाथमा ‘छैठौं बेगनास फिस फेस्टिभल तथा देउसी भैलो-२०८३’ आयोजना हुने भएको छ। होटल एण्ड रेष्टुरेन्ट एशोसिएसन लेखनाथको आयोजनामा आगामी कार्तिक १३ गतेदेखि २३ गतेसम्म पोखरा-३१, बेगनासतालमा उक्त महोत्सव सञ्चालन हुनेछ।

वेगनास क्षेत्रको पर्यटन विकास र स्थानीय संस्कृतिको जगेर्ना गर्न आयोजित यस महोत्सवलाई सफल बनाउनका लागि व्यापक सहकार्यको अपेक्षा गरिएको छ। होटल एण्ड रेष्टुरेन्ट एशोसिएसन लेखनाथका अध्यक्ष सुरेश लामिछानेले एक अपिल जारी गर्दै स्थानीय संघ(संस्था, सरकारी तथा गैरसरकारी निकाय, कम्पनी, सुरक्षा संयन्त्र, पत्रकार, व्यवसायी, कलाकारज्यूहरू लगायत सम्पूर्ण महानुभाव तथा आम नागरिकहरूसँग साथ, समर्थन र उचित सुझावको अपेक्षा गरेका छन् ।

यो महोत्सवलाई पोखरा, विशेषगरी लेखनाथ बेगनासको एक विशिष्ट पर्वको रूपमा स्थापित गर्न सबै पक्षको सक्रिय सहभागिता रहने विश्वास आयोजकले लिएको छ। स्थानीय माछाका परिकारहरूको प्रवर्द्धन र तिहार पर्वको उल्लासलाई जोड्दै सञ्चालन हुने यस ‘छैटौँ बेगनास फिस फेस्टिभल तथा देउसी भैलो’ लाई भव्य रूपमा सफल पार्न आयोजकले सबैलाई आह्वान गरेको छ।

You might also like

Comments are closed.