ढोरपाटनमा सिकार याम सुरु, दश नाउर र सात झारलका लागि अनुमति

बागलुङ । ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ । असोजदेखि मङ्सिरसम्मको यस वर्ष याममा १० नाउर र सात झारलको सिकार गरिने छ ।

ढोरपाटनमा सिकार खेल्न अनुमति प्राप्त विदेशका सिकारी नेपाल आउन वन्यजन्तु विभागअन्तर्गत ठेक्का पाएका कम्पनीसँग तरखर गरी समन्वय गरी रहेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । विश्वका धनाश्य र सिकारका पारखी सिकारी ढोरपाटनमा सिकार खेल्न आउने गरेका छन् ।

विगत केही दशकदेखि खासगरी रसियन, अमेरिका, स्पेन, डेनिस, अफ्रिकन र फ्रान्सलगायतका देशबट सिकार खेल्न नेपाल आउने गरेको पाइन्छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रतिस्पर्धाबाट सिकार गराउन विभिन्न कम्पनीसँग गत भदौमा दरभाउ पत्र आह्वान गरेको थियो ।

ढोरपाटन सिकार आरक्षमा गत वर्ष दुई याममा २१ नाउर र ११ झारलको सिकार भएको थियो । त्यसबाट रु चार करोड १७ लाख राजस्व सङ्कलन भयो । यस वर्षको पहिलो याममा राजस्व बुझाउने काम भइरहेको छ ।

गत वर्ष एउटै नाउरको रु २० लाख मूल्य कायम भएकोे जानकारी दिँदै प्रमुख संरक्षण अधिकृत बरालले यो वर्ष आरक्षभित्र रहेका नाउर र झारलको गणना गरिने जानकारी दिए ।

विदेशी सिकारी हेलिकप्टरमार्फत सिधैँ सिकार आरक्षण क्षेत्रमा पुग्ने गरेका छन् । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक कायम गरिएको छ ।

सिकार खेल्ने क्रममा नेपाली सहयोगीसहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँग खटिनेछन् । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्दैआएको छ । विदेशी सिकारी समूहले १५ दिनभित्र तोकिएको ब्लकमा सिकार खेल्नुपर्ने छ ।

विभागका अनुसार दोस्रो याम फागुनदेखि वैशाखसम्मका लागि सिकार गर्न अनुमति प्रदान गरिने छ । विसं २०४४ मा स्थापित आरक्षण पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ । आरक्ष कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा रहेको छ ।

गत वर्षमा ढोरपाटन सिकार आरक्षमा क्षेत्रमा ३७ हजार आन्तरिक र बाह्य पर्यटक अवलोकनका लागि पुगेको आरक्ष कार्यालयले जनाएको छ । रासस

You might also like

Comments are closed.