काठमाडौं । हस्पिटालिटी सेल्स एन्ड मार्केटिङ एसोसिएसन नेपालको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। एसोसिएसनका अध्यक्ष रबिन्सन महर्जनको अध्यक्षतामा सम्पन्न सभामा बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी प्रमुख अतिथि रहेको कार्यक्रममा पर्यटन तथा होटल व्यवसायसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि, व्यवसायी र आतिथ्य क्षेत्रमा आबद्ध व्यक्तिको उपस्थिति थियो।
साधारणसभाले नेपालको पर्यटन प्रवर्द्धन, आतिथ्य क्षेत्रको व्यावसायिक विकास र यस क्षेत्रमा आबद्ध जनशक्तिको क्षमता अभिवृद्धिमा सहकार्य गर्नुपर्नेमा जोड दिएको छ।
कार्यक्रममा सचिव सुवेदीले नेपालका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न आतिथ्य क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए। सगरमाथा, गौतम बुद्ध, हिमाल, पहाड, नदी तथा विविध जातजातिका संस्कृति र परम्परा नेपालको पर्यटनका प्रमुख आकर्षण भएको उल्लेख गर्दै उनले पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गरी उनीहरूको बसाइ लम्ब्याउनुपर्नेमा जोड दिए।
कार्यक्रममा जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले पर्यटन क्षेत्रलाई स्वदेशमै रोजगारी र उद्यमका अवसर सिर्जना गर्ने आधारका रूपमा विकास गर्नुपर्ने बताए। बरालले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाएर आतिथ्य क्षेत्रलाई थप व्यवस्थित तथा व्यावसायिक बनाउनुपर्ने बताए।
एसोसिएसनका अध्यक्ष रबिन्सन महर्जनले सदस्य फरक–फरक संस्थामा आबद्ध रहेर आ–आफ्ना व्यावसायिक लक्ष्यअनुसार काम गरे पनि नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रलाई सशक्त, व्यवस्थित र आकर्षक बनाउनु साझा उद्देश्य रहेको बताए। संस्थाले हस्पिटालिटी क्षेत्रमा आबद्ध जनशक्तिको क्षमता विकास, तालिम, ज्ञान तथा अनुभव आदानप्रदान र व्यावसायिक सञ्जाल विस्तारलाई एसोसिएसनले प्राथमिकतामा राखेको र आगामी दिनमा पर्यटन प्रवर्द्धनका लागि सामूहिक पहललाई थप प्रभावकारी बनाउने बताए।
नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न यहाँका गन्तव्यको पहिचान, व्यावसायिक बजारीकरण र प्रभावकारी प्रचारप्रसार आवश्यक रहेको उनको भनाइ थियो। त्यसका लागि पर्यटनसम्बन्धी सरकारी निकाय, प्रदेश सरकार र नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने उनले बताए।
साधारणसभाले नेपालको पर्यटन प्रवर्द्धन, आतिथ्य क्षेत्रको व्यावसायिक विकास र यस क्षेत्रमा आबद्ध जनशक्तिको क्षमता अभिवृद्धिमा सहकार्य गर्नुपर्नेमा जोड दिएको छ। कार्यक्रमको सञ्चालन एसोसिएसनका महासचिव दीपक पोखरेलले गरेका थिए। महासचिव पोखरेलले प्रथम वार्षिक साधारण सभाबाट प्राप्त हुने सुझाव, मार्गदर्शन र निर्णयहरूलाई आत्मसात् गर्दै ज्क्ःब्ल् लाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एसोसिएसनमा १०० जना साधारण सदस्यहरू आबद्ध छन् । आगामी दिनमा देशभरका होटल, रिसोर्ट तथा आतिथ्य र पर्यटन क्षेत्रमा कार्यरत थप व्यवसायी एवं पेशाकर्मीलाई संस्थाको सञ्जालमा जोड्ने लक्ष्य रहेको बताइएको छ।
एसोसिएसनको मुख्य उद्देश्य होटल, रिसोर्ट, पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रमा कार्यरत Sales, Marketing र Business Development Professionals लाई एउटै साझा मञ्चमा जोड्नु रहेको र Networking, Knowledge Sharing, Professional Development र Business Collaboration लाई प्राथमिकतामा राखेको बताइएको छ।





Comments are closed.